राजनीति पेशा होइन, विशुद्ध समाजसेवा हो : बिनोद वान्तवा

काठमाडौँ । नेपाल विद्यार्थी संघबाट खारिएका जुझारु युवा नेता हुन् बिनोद वान्तवा । भोजपुर जिल्लाको दूरदराजमा जन्मिएका वान्तवा नेपाली कांग्रस भोजपुरका पार्टी सभापति छन् । उनले आसन्न मंसिर ४ गते हुनगइरहेको आमनिर्वाचनमा भोजपुर प्रदेश ‘ख’बाट प्रदेससभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी गठबन्धनको नेपाली कांग्रेसकोतर्पmको भोजपुर प्रदेश ‘ख’बाट उम्मदेवार बनेका हुन् । वान्तवा राजनीतिलाई पेशा नभई नितान्त समाजसेवा ठान्दछन् । जनताको काममा सधैं दत्तचित्त उनी उदार लोकतन्त्रको अभ्यासका लागि युवाहरुलाई अभ्यस्त बनाउनुपर्नेमा जोड दिन्छन् । सधैं निष्ठाको राजनीतिमा लागेर लोकप्रिय छवि बनाएका वान्तवा निष्ठावान नेता र स्पष्ट वक्ताका रुपमा परिचित छन् । आमनिर्वाचनमा केन्द्रित रहेर नेता वान्तवासँग काठमाडौँ निउज डटकमका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

विनोद वान्तवा, प्रदेशसभा सदस्य उम्मेदवार भोजपुर–प्रदेश ‘ख’ तथा भोजपुर पार्टी सभापति, नेपाल काग्रेंस –

अहिले तपाईं भोजपुरमा के गर्दै हुनुहुन्छ ?

म सत्तारुढ गठबन्धन दलका जिल्ला नेता, कार्यकर्तासँग चुनावी रणनीति बनाउने र प्रचार प्रसारमा लाग्ने तयारीमा जुटिरहेको छु । त्यसपछि गठबन्धनका साथीहरु एकढिक्का भएर चुनाव प्रचारमा लाग्ने छौं । त्यसको लागि भोजपुरवासी नागरिकको घरदैलो कार्यक्रम पुग्नेछौं । त्यसरी उहाँहरुको घरदैलो पुगिरहँदा जनतामा के समस्या छ, हामीले गर्ने के हो त्यसबारेमा राम्रो पहिचान हुन्छ भन्ने हाम्रो ठम्याइ छ । त्यसैको लागि हामी अहिले गठबन्धन दलका साथीहरुसँग चुनावी रणनीतिमा बनाइरहेका छौं ।

गठबन्धन कत्तिको अनुशासित ढंगले कसिलो होला भन्ने लाग्छ ?

हाम्रो गठबन्धन चुनावी मात्रै होइन सरकारसँग पनि छ । यो गठबन्धन एकदमै अनुशासित, इमानदार र एक ढिक्का भएर लाग्ने छौं भन्नेमा म विस्वस्त छु । त्यसमा खुकुलिएका बन्धनहरुलाई फेरि कसेर बन्दिलो बनाउने । र, केही टाढिएका साथीहरुलाई पुनःहामीसँग जोड्ने अभियानमा हामी जुटिरहेका छौं । त्यसको लागि के कसरी हुन्छ भनेर हामी छलफल गरिरहेका छौं । त्यसमा सहभागी साथीहरु पनि प्रतिवद्ध हुनुहुन्छ । त्यसकारण हाम्रो गठबन्धन एकदमै विश्वस्त, अनुशासित, बलियो र प्रभावकारी रहन्छ भन्नेमा हामी ढुक्क छौं ।

कांग्रेसभित्रै टिकट वितरणको विषयमा असन्तुष्टि छ, त्यसलाई कसरी मिलाउनुहुन्छ त ?

पार्टी राजनीतिमा लागिसकेपछि सबै साथीभाइले चुनाव लड्ने, जित्ने, जनताको सेवा गर्ने महत्वकांक्षा राखिन्छ । त्यसरी लागिसकेपछि चुनावमा सबै साथीहरुले भाग लिनुपर्छ । जब पार्टीका शीर्ष नेताहरुले ‘रेडी गो’ भनेपछि हामीहरु सबै दौडिन्छौं । त्यो दौडमा कुनै साथीले समय अगाडिनै लिक छोडेर अन्तिम बिन्दुबाट बाहिरिन्छन् । तर, राजनीतिमा त्यस्तो हुँदैन सबै साथीहरुले अन्तिम बिन्दुसम्म पुग्नुपर्छ । र, पार्टीले गरेको निर्णयमा देश, जनता र पार्टीको भविष्य जोडिकाले सबै साथीहरु इमानदारपूर्वक लाग्छन् भन्नेमा मैले विश्वास लिएको छु । त्यसमा मैले गर्नुपर्ने पहल कदमीमा साथीहरुलाई मनाउने, सम्झाउने, मसंग भएको कुरा दिने, उहाँहरुलाई लागेका कुराहरु पार्टीसँग भन्नेमा कुनै कसर बाँकी राख्ने छैन । केही विषयमा मन अमिलो पारी असन्तुष्ट रहेका साथीहरुलाई पनि भुनावी अभियानमा एक ढिक्का बनाएर जानेछु । त्यसमा कुनै दुईमत छैन ।

धेरै वर्षदेखि गुम्दै आएको भोजपुर कांग्रेसको शाख यसपालि स्थापित गर्न सक्नुहुन्छ ?

त्यसको लागि सबै साथीहरु एकजुट भएर लाग्नुहुन्छ भन्नेमा म विश्वस्त छु । यो चुनाव मैले होइन नेपाली कांग्रेसले जित्ने हो । कांग्रेस पार्टीले एकजुट भएर निर्वाचित गरेपछि मात्रै म माननीय हुने हो । माननीय निर्वाचित भइसकेपछि यहाँका सम्पूर्ण जनताको लागि विकास निर्माणको काम गर्ने हो । जनताका आवश्यकता परिपूर्ति गर्न लागिपर्ने हो । यहाँका नेता, कार्यकता, अग्रज र जनताले चाहेको र लगाएको काम गर्ने हो । मलाई आफू सांसद, मन्त्री हुनेभन्दा पनि भूगोलको आवश्यकता र जनताको चाहना अनुसार काम गर्ने रहर छ । त्यसैले यहाँका नेता, कार्यकर्तालगायत गठबन्धनका सम्पूर्ण साथीहरुले निर्वाचित गराउनुहुन्छ भन्नेमा ढुक्क छु । यो चुनावमा गठबन्धनका हाम्रो टिम एकदमै विश्वास र भरोसामा दरिलो छ ।

कांग्रेसले टिकट दिने गरी पार्टीमा के योगदान गर्नुभएको छ ?

म नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा आएको हँु । मैले २०४४/४५ सालदेखि नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमितिमा रहेर काम गर्दै आएको हुँ । त्यतिबेला पार्टी प्रतिबन्धित अवस्थामा थियो । त्यहींबेलादेखि सक्रिय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेको छु । विद्यार्थी राजनीतिमा नेविसंघको जिल्ला कार्यसमितिबाट केन्द्रीय सदस्यहुँदै केन्द्रीय कोषाध्यक्षसम्म भएर भूमिका निर्वाह गरेको छु । त्यसपछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेको हुँ । पार्टी राजनीतिमा आइसकेपछि मैले आफ्नो जन्मथलो भोजपुरको भूगोलमा रहेर काम गर्दै आएको छु । त्यहीं कामको मूल्यांकन गरेर कांग्रेसका नेता, कार्यकर्ताले मलाई जिल्ला सभापतिमा निर्वाचित गराउनुभएको हो । अहिले उहाँहरुको जोडबल र पार्टी संगठनमा मेरो कामको मूल्यांकन गरेर नेपाली कांग्रेसले मलाई भोजपुरको प्रदेश ‘ख’ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएर पठाएको हो ।

भोजपुर प्रदेश ‘ख’ का जनताले तपाईंलाई नै भोट दिएर निर्वाचित गराउनुपर्ने कारण के ?

पहिलो त नेपाली कांग्रेस पुरानो ठूलो प्रजातान्त्रिक पार्टी हो । सैद्धान्तिक रुपमा कुरा गर्दा पनि नेपालको प्रजातान्त्रिक पार्टी कांग्रेस नै हो । देशलाई अग्रगामी परिवर्तनको बाटोतिर डोर्‍याउने पनि कांग्रेस नै हो । जहिले पनि देशलाई अप्ठ्यारो पर्दा सधैं कांग्रेसले नेतृत्व गर्ने गरेको छ । मुलुक द्वन्द्वमा फस्दा वार्ताको माध्यमबाट शान्ति सुव्यवस्था कायम गर्ने काम कांग्रेसले गरेको छ । मुलुकमा संविधानसभाको निर्वाचनबाट संविधान बन्न नसकेपछि पुन संविधानसभाको निर्वाचन गराउने काममा कांग्रेसले अगुवाइ गरेको छ । संविधानसभाको निर्वाचन सम्पन्न भइसकेपछि संविधान बनाउने र घोषणा गर्ने कामको अगुवाइ पनि कांग्रेसले गरेको छ । मुलुकमा गणतन्त्र ल्याउने काममा पनि कांग्रेसको अगुवाइ रहेको हो । मुलुकलाई अप्ठ्यारो परेको बेलामा धेरैं कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । म त्यो पार्टीको एउटा इमानदार कार्यकर्ता र बफादार सिपाही हुँ । त्यसैले पनि यसपालिको निर्वाचनमा भोजपुरका जनताले म लगायत हाम्रो गठबन्धनको टिमलाई भोट दिएर जिताउनु हुन्छ भन्नेमा विश्वस्त छु ।

तपाईं भोजपुर कांग्रेसको नेता भइरहँदा त्यहाँका जनता माझ के योगदान गर्नुभएको छ ?

राजनीति गर्ने सबैले जनता माझ योगदान नै गर्ने हो । मैले भोजपुरका जिल्लाका नगरपालिका, गाउँपालिका, वडा र गाउँसम्मका जनताका कुरा सुन्ने आफ्ना पनि कुरा राख्दै आएको छु । त्यसरी कुरा राख्दा यहाँको विकास निर्माणमा कसरी योगदान पुर्‍याउन सकिन्छ विभिन्न विचार, गोष्ठी राखेको छु । ती विचार, गोष्ठीमा समस्यामा आफ्नो बलबुताले भ्याएसम्म साथ दिँदै आएको छु । उहाँहरुले पनि मेरो काम, निष्ठा र लगावको मूल्यांकन गर्नुहुन्छ भन्ने लागेको छ । त्यो वचन पनि जनताबाट पाएको छु । ती सबै साथीहरुसँग म अहिलेपनि साथ र सम्पर्कमा छु । विशेषगरी परिवर्तनको पक्षमा उभिने सम्पूर्ण जनताले मलाई साथ, सहयोग र समर्थन गर्नेछन् । त्यो आधारमा पनि आगामी मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा यहाँका नागरिकहरुले भोट दिएर मलाई निर्वाचित गराउँछन् भन्ने लाग्छ ।

त्यहाँका जनताले तपाईंलाई नै भोट हाल्नुपर्ने एजेन्डा चाहीं के त ?

खासगरी चुनावी एजेन्डा भनेको परिवर्तनको पक्षमा जानुपनि हो । अर्को एजेन्डा भनेको भोजपुरको विकासमा योगदान पुर्‍याउनु पनि हो । चुनावी एजेन्डा भन्ने बित्तिकै विशेषगरी हामीले विकास निर्माणकै कुराहरु बढी उठाउने गर्दछौं । राजनीतिक परिवर्तन गर्ने अर्को विषय हो । मैले भोजपुर कांग्रेसको पार्टी सभापति लड्दै गर्दा राजनीतिमा पुस्तान्तरणको विषयलाई आमनेता, कार्यकर्ताबीच उठाउँदै आएको थिएँ । अहिले भोजपुरे जनताले राजनीतिक परिवर्तनको चाहना राखेका छन् । त्यसको लागि यसपालि नेपाली कांग्रेसलाई मत दिएर विजयी गराउने भावना राखेको पाएको छु । अर्को नेपालमा लामो समयदेखि संवैधानिक समस्याहरु आइरहेका छन् । संविधानलाई कता–कता भत्काउने दुस्प्रयासहरु भइरहेका छन् । लोकतन्त्रमाथि कुठाराघात गर्ने प्रयासहरु भइरहेका छन् । त्यसबाट मुलुकलाई जोगाउनका लागि पनि यसपटक जनताले नेपाली कांग्रेसलाई भोट दिने विचार गरेका छन् ।

कांग्रेस एक्लै चुनाव जित्नै नसक्ने भएर गठबन्धनमा गएको हो ?

कांग्रेस चुनावी गठबन्धनमा जानु रहर होइन, राष्ट्रिय आवश्यकता हो । अहिले हामी लामो योगदान, संघर्ष गरेर, कति शहीदहरुको बलिदानीले प्राप्त गरेको संविधानलाई बलियो बनाउनका लागि गठबन्धनमा गएका हौं । यो कुनै सांसद बन्न, मन्त्री बन्न र प्रधानमन्त्री खानका लागि मात्रै गरिएको गठबन्धन होइन । खासगरी हाम्रो गठबन्धन संविधानलाई बलियो बनाउने । समाजभित्र फैलिएका विकृति, विसंगति, अनियमितता र भ्रष्टाचारलाई निमिट्यान्न बनाउने । यहाँको शिक्षा, स्वास्थ्य र विकासमा परिवर्तन ल्याउने । समाजलाई सुधारेर सामाजिक र आर्थिक रुपान्तरणमा मुलुकलाई अगाडि बढाइ समुन्नत नेपाल निर्माणका लागि गरिएको हो । त्यसैगरी हाम्रो गठबन्धनमा उभिएका दलहरुको पनि यो संविधानलाई बलियो बनाउने एजेन्डा रहेको छ । त्यसैले यो गठबन्धन हामीसामु देखिएको समस्या समाधानका लागि राष्ट्रिय आवश्यकता हो ।

नेपालमा सम्भावना नदेखेर विदेसिने युवाहरुलाई देशमै रोक्न के गर्नुपर्ला ?

कुनै पनि युवा शक्तिहरु रहरले विदेसिएका होइनन् । स्वदेशमै रोजगारी सिर्जना हुने हो भने पनि त्यसरी युवाहरु बाहिरिने थिएनन् । खासगरी अहिले धेरै युवा जनशक्तिहरु राजनीति व्यवस्थाप्रति वितृष्णा भएर विदेसिएका छन् । त्यसैले मैले भन्ने गरेको छु, हामीले व्यवस्था त परिवर्तन गर्‍यौं । तर, त्यो व्यवस्थाभित्रको राजनीतिक विकृति र विसंगतिको परिवर्तन गर्न सकेनौं । त्यसको लागि राजनीतिक परिवर्तन आवश्यक छ । उनीहरुमा राजनीतिक वितृष्णा कसरी भयो भन्दा राजनीतिभित्र विकृति, विसंगति ब्याप्त भयो । नेताहरु दिनप्रतिदिन भ्रष्ट र सुविधाभोगी हुँदै गए । राजनीतिक पार्टीहरु सिद्धान्त, निष्ठा भन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त हुन थाले । जनताको इच्छा, आकांक्षा र आवश्यकता परिपूर्ति गर्नेभन्दा आफन्त र आसेपासेको पछि लाग्न थाले । चुनावका बेला भूगोलमा उभिएर योगदान गरेकालाई टिकट नदिएर नातागोता, आफन्त र आसेपासेलाई खोजे । समाजमा कहिल्यै नदेखिएका मान्छेहरुलाई पार्टीमा ल्याएर पदधारण गरियो । विभिन्न राजनीतिक नियुक्ति गर्दा संस्थागत भ्रष्टाचार गरियो । संस्थागत भ्रष्टचार हुनथालेपछि अन्याय र अत्याचार बढ्न थाल्यो । त्यसले गर्दा योग्य सर्वसाधारण नागरिकको काम हुन छोड्यो । अनि यस्ता गतिविधिबाट वाक्कदिक्क भएर पढेखेलेका, सीपयुक्त युवा जनशक्ति विदेसिन वाध्य भएका हुन् । त्यसले मुलुकमा व्यवस्था मात्रै परिवर्तन भएर हुँदैन । त्यसको राजनीतिक र सामाजिक परिवर्तन हुन आवश्यक छ ।

राजनीतिक पेशा हो कि सेवा ?

राजनीति भनेको विशुद्ध समाज सेवा हो, यो पेशा होइन । यसलाई सधैं निरन्तरता दिएर राजनीतिप्रति युवाहरुलाई आकर्षित गर्न चाहन्छु । त्यसैले राजनीति भनेको समाज सेवा हो । यो देश र जनताको परिवर्तनका निम्ति गरिने सेवा हो । यसप्रति जनतालाई सुसूचित गराउनुपर्छ । राजनीतिक भनेको हरेक पाँच–पाँच वर्षमा कुनै व्यक्ति वा कुनै संस्थाका मान्छेलाई निर्वाचित गर्ने परिपाटी मात्रै होइन । हामीले बनाएको जनप्रतिनिधिले हाम्रो सेवा गर्नुपर्छ । हामीले राखेको सद्भावलाई उनीहरुले गुणले तिर्नुपर्छ भन्ने मेरो धारणा हो ।

तपाईंको चुनावी क्षेत्रका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

यदि मलाई यहाँका नागरिकहरुले आसन्न मंसिर ४ गतेको आमनिर्वचनमा भोजपुरको प्रदेश ‘ख’ बाट मलाई निर्वाचित गराएको खण्डमा जनताको आवश्यकता परिपूर्तिको लागि मेरो बलबुताले भ्याएसम्म लागिपर्ने छु । भोजपुरको शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पुलपुलेसा र भौतिक पूर्वाधार विकासका लागि अहोरात्र खट्ने छु । कृषिका लागि सिंचाईको व्यवस्था गर्ने छु । कृषिजन्य उत्पादन विक्रीवितरणको लागि बजारको व्यवस्थामा जोड दिने छु । कृषि बीउजीजन र मलखादको लागि समयमै उपलब्ध गराउन पहल गर्ने छु । यसरी आवश्यक स्कुल, कलेज, अस्पताल, सडक निर्माण, दक्ष शिक्षक, चिकित्सक र बिरामीहरुका लागि आवश्यक औषधि उपलब्ध गराउन डटेर लागिपर्ने छु । सडकविस्तार र पुराना सडक पुनर्संरचनाका लागि काम गर्ने छु । त्यसैगरी त्यहाँका सम्पूर्ण अग्रज नेता, कार्यकर्ता, महिला, दलित, उत्पीडित, अल्पसंख्यक, जाति, वर्ग समुदायका प्रतिनिधिलाई उचित व्यक्तिलाई आफ्नो विवेकको मत दिनुहोस् भन्न चाहन्छु । तपाईंले दिएको एक मतले भोलि देश निर्माणमा ठूलो अर्थ राख्छ । सही नेतृत्व छनोटले तपाईं र तपाईंको भविष्य निर्धारण गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *