बाढीपिडित भन्छन् : यो वर्षको दशैँ दशा बनेर गयो

देउखुरी । लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै हुनुहुन्थ्यो । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन नसकेको सिरक, गद्दा अनि केही थान कपडा सङ्कलन गरिरहेको देख्दा त्यहाँ पुग्ने जोसुकैलाई पनि भावुक बनाउथ्यो । उहाँलाई पीडा कति छ भन्ने कुरा उहाँका आँखाबाट प्रष्ट देख्न सकिन्थ्यो ।

घरभित्र रहेको कागजपत्र सबै पानीले फिजेको छ । घर छेउकोे धान खेत सबै बगर बनेको छ । दसैँको अघिल्लो दिनदेखि लगातार पाँच दिनसम्म परेको वर्षाले उहाँको घरमा भएका सम्पूर्ण सामान भिजेका हुन् । “यो वर्षको दसैँ दशा बनेर आयो, विजोग बनायो, बाढी एकाएक आयो, घरमा भएका केही पनि बचाउने सकिएन, सबै बगाएर लग्यो”, उहाँले भन्नुभयो, “जिउमा लगाएका कपडा र केही थान भिजेका कपडा, सिरक डसनाबाहेक केही छैन ।” बाढीले घरका दक्षिण र पूर्वको भित्ता भत्किएको छ । बचेका भित्ता धुजाधुजा पारेको छ ।

लमही–७ हसनापुरका जयप्रकाश चौधरीको घरमा बाढी पस्दा ठूलो क्षति भएको छ । राप्ती नदीबाट आएको भेल र नजिकै बनाइएको बाँध फुटेर आएको बाढीले घर भत्काउनुका साथै खेतबारीमा लगाइएको अन्नबालीमा क्षति गरेको छ । घरमा खाने अन्न केही छैन, जीवनमा पहिलोपटक यस्तो घटना भएको बताउनुभयो । उहाँले अहिलेसम्म पनि भत्किएको घरबाट सामान निकाल्ने आँट गर्न सक्नुभएको छैन ।

गढवा गाउँपालिका–२ महदेवाका रामलाल चौधरीले घरमा भएको अन्न लत्ताकपडा मात्रै नभई गोठमा बाँधिएका चौपाया समेत बगाएर लगेको बताउनुभयो । उहाँको गोठ रित्तै छ । घरभित्रको सामान सबै भिज्यो, घर भित्र–बाहिर सबै ठाउँ पानी पानी भयो । छोराछोरीका किताब, विद्यालय पोसाक सबै पानीले बगायो ।

राजपुर गाउँपालिका–६ गङ्गदीकी रामकली चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताउनुभयो । धानले भरिएको डेहरी (माटोको भकारी) फुटेर धान बगाइदियो, धान कुटेको चामल पनि पानीमा डुब्यो । खानेकुरा केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको शरण लिएको बताउनुभयो । वर्षाका कारण आएको बाढीले देउखुरीका चार पालिकामा ठूलोमात्रामा भौतिक क्षति गरेको छ ।

नागरिक समाजको स्थलगत अनुगमन

बाढीका कारण भएको क्षतिबारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थितिको जानकारी लिन समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चारवटै पालिकामा पुगेको छ । टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरेको निष्कर्ष निकालेको हो । समाजका अनुसार देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्र्बौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको छ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत सङ्कलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाइ भएको नागरिक समाजले जनाएको छ । जिल्लाको लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिकाका विभिन्न वडामा स्थलगत जानकारी लिनुका साथै पालिका स्तरबाट भइरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो ।

स्थानीय पालिका भन्छन्, तथ्याङ्क सङ्कलन गर्दैछौँ

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो । प्रारम्भिक तथ्याङ्कमा दुई सय ६५ पूर्णरुपमा भत्किएका छन् । “पाकेर काट्न ठिक्क परेको धान डुवानमा परेको छ । दशैँ मानेर खेती स्याहार्ने तयारीमा रहेका किसानलाई बाढीले दुःखी बनाएको छ । सबै तथ्याङ्क सङ्कलन हुँदैछ”, उहाँले भन्नुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बाढी प्रभावित गाउँ कालापानी, पहरुवा, लठ्वा, सिङे, मझेरिया, भगवानपुर बगरापुरलगायतका दर्जनभन्दा बढी गाउँमा बाढी पसेको बताउनुभयो । आफैँ पीडितको घरमा पुगेर राहतस्वरुप खाद्यान्न उपलब्ध गराइरहेको बताउनुभयो । धेरै ठाउँमा क्षति भएकाले सङ्कलन गर्न समस्या भएको बताउनुभयो । किसानको मुख्य स्रोत अन्नबालीमा क्षति पुगेकाले तत्कालका लागि खाद्यान्न वितरण गरे पनि दीर्घकालीन राहतका लागि तथ्याङ्क सङ्कलन गरिरहेको अध्यक्ष विष्टले बताउनुभयो । राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ । तथ्याङ्क सङ्कलनको कार्य जारी रहेकाले यो सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले पालिका स्तरमा लगत सङ्कलनको काम भइरहेको बताउनुभयो । उहाँले केही सामाजिक सङ्घसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नुबाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गर्नुभयो । तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाई गङ्गदी र जङ्ग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताउनुभयो । राजपुरमा तीन सय २५ घर पूर्णरुपमा भत्किएको प्रारम्भिक तथ्याङ्क रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । उहाँले उद्धारपछिको राहत वितरण गर्ने स्रोतको समस्या भएको बताउनुभयो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले वडा नम्बर २ र ५ का बासिन्दा बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । सो पालिकाका दुई सय ५४ घर पूर्ण रुपमा क्षेति भएको हा । सो वडाका नागरिकको बस्ने खाने समस्या भएपछि तत्कालका लागि सामूहिक मेस चलाएको अध्यक्ष पोख्रेलले बताउनुभयो । लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा दुई सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । बाढीका कारण प्रावि महदेवा र नमूना प्रावि पचहियाको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने समस्या थपिएको बताउनुभयो ।

पालिकाका सबै वडामा कति घरपरिवार प्रभावित भएका छन् भन्नेबारे यकीन विवरण सङ्कलन भई नसकेको उहाँले बताउनुभयो । प्रारम्भिक तथ्याङ्कमा छ सय ६० डुबानमा परेका र ८० घर भत्किएका छन् ।

तथ्याङ्क सङ्कलन गर्दै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीले जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति हुँदा परिवार विस्थापित भएको बताउनुभयो । लमही नगरपालिकामा दुई सय ६५, राजपुरमा तीन सय २५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ ।

देउखुरीको चार पालिकाको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घर पूर्ण रुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

कृषि शाखाले लगत लिने काम गरेका छन् : ज्ञान केन्द्र

पाकेर काट्न ठिक्क परेको धान डुबानमा पर्दा धानबाली नष्ट भएको छ तर कति क्षति भयो भन्ने विवरण अझै आइनपुगेको कृषि ज्ञान केन्द्र दाङका तथ्यांक अधिकृत पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँले देउखुरी क्षेत्रमा बढी क्षति भएको जानकारी दिनुभयो । “देउखुरीका किसानले लगाएको धान बाली अलिबढी क्षति भएको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “देउखुरीका चार पालिकासँग समन्वय भइरहेको छ तर कति क्षति भयो भन्ने यकीन विवरण प्राप्त भएको छैन ।”

दाङ जिल्लामा धान रोप्ने जमिन ३९ हजार चार सय हेक्टर क्षेत्रफल रहेकामा देउखुरीमा १२ हजार पाँच सय २८ र दाङ क्षेत्रमा २६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफल छ । यसमा देउखुरीका सबै क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष समयमा वर्षा नभएका कारण जिल्लाभर सात प्रतिशत अर्थात् ३४ हजार दुई सय सात हेक्टरमा धान रोपाइँ भएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *