कमाउनलाई होइन, सेवा गर्न राजनीतिमा आएको हु : केसी

काठमाडौँ । समाजसेवाबाट राजनीतिमा उदीयमान युवा नेता हुन् सुनिल केसी । काठमाडौंका स्थानीय वासिन्दा केसी आगामी मंसिर ४ मा हुनगइरहेको आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘ख’ बाट राप्रपाका उम्मेदवार हुन् । हाल्ला गरेर होइन काम गरेर देखाउनुपर्छ भन्ने मान्यता राख्ने उनी निष्ठावान युवा नेता र स्पष्ट वक्ताका रुपमा परिचत छन् । सधैं जनताका सेवामा समर्पित उनी कमाउनका लागि नभइ काम गर्न राजनीतिमा आएको बताउँछन् । उनै नेता केसीसँग आमनिर्वाचनमा केन्द्रित रहेर काठमाडौँ न्युजडटकमका संपादक कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

सुनिल केसी, काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा उम्मदेवार

आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट को को उम्मेदवार हुनुहुन्छ ?

यस क्षेत्रमा राप्रपाबाट प्रतिनिधि सभा सदस्यका लागि कुन्तीदेवी पोख्रेलले उम्मेदवारी दिनुभएको छ भने प्रदेश सभा सदस्यको लागि प्रदेश ‘क’ बाट मैले उममेदवारी दिएको छु, ‘ख’ बाट राजु विष्ट हुनुहुन्छ । प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिनुभएकी कुन्ती पोख्रेल वरिष्ठ समाजसेवी तथा उद्यमी हुनुहुन्छ । राप्रपाको केन्द्रीय सदस्यसमेत रहनुभएकी उहाँसँग दशक बढीको अनुभव छ । म विगत २७ वर्षदेखि समाजसेवा गर्दै अगाडि बढिरहेको छु । मैले समाजसेवामार्पmत् काम गर्ने क्रममा यस क्षेत्रका जनताको आवश्यकता नजिकबाट बुझेको छु । यसरी काम गर्दै जाँदा चाहे २०७२ सालको भूकम्प होसे्, चाहे विश्वलाई आक्रन्त बनाएको कोरोना कहरका बेलाहोस् तथा काठमाडौंलाई हराभरा बनाउने काममा होस् आफूनो बलबुताले भ्याएसम्म काम गरेको छु । त्यस्तै राजु विष्टजीले आफ्नो क्षेत्रबाट जनताका काम गर्दै आउनुभएको छ ।

तपाईंका चुनावी एजेन्डा चाहीं के के हुन् त ?

खास एजेन्डा भन्दा पनि मानिसका जीवनसँग जोडिएका काम गर्नुपर्छ भन्ने लाग्छ । चुनावका बेला सबै उम्मेदवारहरुले रोजगार, शिक्षा, स्वास्थय, सुरक्षा, विकासनिर्माणका कुरा उठाएका हुन्छन् । चुनावीपछि ती आफूले उठाएका एजेन्डा अनुसार काम गरेको देखिँदैन । त्यसैले चुनावका बेला एजेन्डा उठाएर मात्रै हुँदैन, हामीले बोलेका कुराहरु कत्तिको पुरा गर्न सक्छौं त्यो ठूलो कुरा हो । यस क्षेत्रका विकास निर्माणका काममा जोड दिने । हामीले अहिले धर्म, संस्कार, संस्कृतिमाथि जसरी प्रहार भइरहेको छ, त्यसकोविरुद्ध नीतिनिर्माण तहमा आज उठाउने । जेष्ठनागरिकहरुलाई घरमै उपचार सेवा उपलब्ध गराउने । सामुदायिक विद्यालयलाई गुणस्तरयुक्त बनाइ सबैका लागि निःशुल्क शिक्षामा जोड दिने । यहाँका बाटाघाटा, मठमन्दिर, ऐतिहासिक पुरातात्विक महत्वका धरोहरकरुको रक्षा, प्रवद्र्धन र पुनर्संरचना गर्ने । आकासेपुलको समस्या समाधानल गर्नेलगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेका छौं ।

समाजसेवाबाट राजनीतिमा चाहीं किन आउनुभयो त ?

समाजसेवामार्फत जनतामाझ मैले धेरै काम गर्दै आएँ । त्यसक्रममा जनतामाझ पुग्दा धेरै समस्या देखेँ । देशमा राजनीतिक परिवर्तन भए पनि जनतामा त्यसको अनुभूति भएको पाइएन । जनताको परिवर्तनको लागि केही गर्नुपर्छ भनेर राजनीतिमा आएको हुँ । क्षेत्रको विकास र परिवर्तनका लागि पहिला आफू परिवर्तन हुनुपर्छ । राम्रो कामको सुरुआत पहिला आफूले गर्नुपर्छ भनेर धेरै लामो समय जनतामाझ काम गर्दै आएकाले पनि म राजनीतिमा आएको हुँ ।

त्यसोभए समाजमार्फत मैले जनताको धेरै गरेँ, अब जनताले मलाई दिनुपर्छ भन्ने तपाईंको दावी हो ?

त्यसो पनि होइन । मैले समाजसेवामार्फत जनतामाझ काम गरेको २७ वर्ष भयो । यसबीचमा मैले खासै राजनीति गरेको छैन । समाजसेवाले मात्रै पुगेन जनतामा परिवर्तन ल्याउनुपर्‍यो । अब देशको लागि केही गर्नुपर्‍यो भनेर अगाडि बढेको हो । अर्को मैले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेको थिएँ, ‘म हल्ला गरेर मात्रै होइन, सल्लाह गरेरै केही गर्नुपर्‍यो,’ भनेर । त्यो किन लेखेँ भन्दा मैले साजसेवामा काम गर्दा गाउँ, वस्ती, स्थान, भूगोल र क्षेत्रको वस्तुस्थिति जसरी बुझेको छु । जनतासँग प्रत्यक्ष रुपमा भेटघाट, छलफलमा जुटेको छु । हिजो समाजसेवा गर्दा त मैले आफ्नो आत्मासन्तुष्टिको लागि गरेँ । तर, राज्यको नीतिनिर्माण तहमा पुगेँ भने त पक्कै पनि यी अनुभवले राम्रो काम गर्न सक्छु भनेर राजनीतिमा आएको हुँ । त्यसकारण पनि यस क्षेत्रका जनताले मलाई भोट दिन्छन् भन्ने लाग्छ ।

समाजसेवाबाटै जनताको काम गरे भैगो नि राजनीतिमै किन आउनुपर्‍यो त ?

हामी पनि यो देशमा केही गरौं भन्ने जोशजाँगर भएका युवा हौं । हाम्रा पनि यो देशका लागि केही गरौं भन्ने ‘भिजन’ छन् । अर्को हामी पनि सामान्य नागरिकबाट उठेर आएका हौं । हिजो समाजसेवामार्फत हामीले जे/जति काम गर्‍यौं त्यो जनताका आवश्यकता परिपूर्तिको लागि थोरै भयो । राजनीतिमार्फत राज्यको नीतिनिर्माण तहमा पुगियो भने त्यो भन्दा धेरै काम गर्न सकिन्छ । समाजसेवाबाट त युवा, महिला, जेष्ठनागरिक, बालबालिका, धर्म, संस्कार, संस्कृति, मठमन्दिर, नदीनाला, काठमाडौंलाई हरियाली बनाउनेलगायत धेरै काम गरियो । तर, त्यतिले मात्रै पुगेन, यसलाई तार्किक निष्कर्षमा पु¥याउन राज्यले नीति बनान आवश्यक छ । त्यसको लागि म राजनीतिमा आएको हुँ ।

काठमाडौं क्षेत्र नं. २ को ठ्याक्कै आवश्यकता चाहीं के देख्नुभएको छ त ?

म काठमाडौं क्षेत्र २ प्रदेश ‘क’ बाट उम्मेदवार बनेको छु । म यहाँको स्थानीय वासिन्दा हुँ । मेरो चुनावी क्षेत्रमा कोगेश्वरी मनोहरा नगरपालिका, साँखु नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नं. ९ र ३२ पनि समेटिएको छ । यहाँका नागरिकका विभिन्न समस्याहरु छन्, त्यसलाई समाधान गर्ने मेरो दायित्व हुन्छ । मैले अगाडि पनि भनेको छु, चुनावका बेला शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका धेरै कुरा आउँछन् । त्यसमा ‘हल्ला गरेर होइन, काम गरेर अगाडि बढ्नुपर्छ’ भन्ने मेरो कुरा हो । मैले विगत लामो समयदेखि ज्यानलाई जोखिममा राखेर जहिले पनि फ्रन्टलाइनमा काम गरेको हो । त्यसकारण कोटेश्वरका समस्या के छन्, वडा नं. ९ का समस्या के छन् । कागेश्वर मनोहरा र साँखुका समस्या के छन् यो राम्रोसँग बुझेको छु । त्यसको समाधानका लागि त्यहाँका जनतासँग बसेर छलफल गरी हामीले काम गर्नको लागि हातेमालो गरेर अगाडि बड्यौं भने मात्रै सार्थक हुन्छ । हामीले काम गर्दा ठ्याक्कै त्यो ठाउँको समस्या पहिचान गरी अगाडि बढ्दा सार्थक हुन्छ । त्यसरी काम गर्दा हामीले प्रत्यक्ष त्यहीं ठाउँमा बसेर गर्नुपर्छ । मैले आफ्नो चुनावी एजेन्डामा यी कुराहरु प्राथमिकतामा राखेको छु । यस क्षेत्रका मतदाताले मलाई चुनेर पठाउनुभयो भने त्यसरी जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

कुन्ती पोख्रेल र तपाईं घरदैलो कार्यक्रममार्फत धेरै जनतामाझ पुग्नुभयो, उनीहरुको अपेक्षा कस्तो पाउनुभयो ?

त्यसरी भेटघाट, कुराकानी गर्दा क्षेत्रमा पटक–पटक ठूला–ठूला चुनावी एजेन्डा लिएर बाहिरबाट आएका उम्मेदवारले भोट माग्ने र चुनावपछि फर्केर नआउने गरेकाले त्यस्ता उम्मेदवारप्रति जनतामा निराशा छाएको पाइयो । त्यसकारण यसपटक आफ्नो मत परिवर्तन गर्ने मनस्थितिमा रहेको पनि उनीहरुले बताए । हामी यहाँका स्थानीय वासिन्दा र समाजसेवामार्फत जनताका धेरै काम गरेका कारण आशावादी रहेको पाइयो । जस्तो हामीले कोटेश्वरमा एउटा कार्यक्रम गर्‍यौं । त्यो कार्यक्रममा जनता बटुल्न घरदैलो नै गर्नुपरेन । उहाँहरु आफै स्वस्फूर्त उर्लिएर आउनुभयो । सबैले स्वागत, सत्कार गर्नुभयो । तपाईंहरु जस्ता भिजन भएका युवाहरु आउनुपर्छ यसपटक हाम्रो साथ, सहयोग र समर्थन रहन्छ भनेर उत्साहित हुनुभयो । हामीले कति राम्रो काम गरेका रहेछौं, जनताहरु कति खुसी भएका रहेछन् भन्ने कुरा त त्यहाँबाट पुष्टि हुन्छ नि । कुन्ती दिदीले आफ्नो क्षेत्रबाट सामाजिक काम गर्नुभएको छ, स्वरोजगार र उद्यमी हुनुहुन्छ । हजारौं मानिसलाई रोजगारी दिनुभएको छ । मैले पनि आफ्नो क्षेत्रबाट समाजसेवा गरेको छु । त्यसैले पनि हामीसँग नागरिकहरु आकर्षित भएका हुन् । उसो त हामी युवा हौं । हामीसँग काम गर्ने जोश, जाँगर, आँट, शाहस छ । कमसेकम अहिलेका सत्ताधारी जस्तो ‘रिटायर्ड लाइफ’का होइनौं । हामीसँग अहिलेको समस्या समाधानका लागि ‘भिजन’ छ । यहीं अठोटका साथ हामी यो चुनावी माहोलमा होमिएका छौं ।

तपाईंहरु युवाको नारा बोकेर चुनाव लड्नुभएको हो ?

नारा मात्रै होइन, हामी आफै युवा उम्मेदवार हौं नि । हामी चुनाव लडेको कमाउनका लागि होइन काम गर्नका लागि हो । हो, यदि कसैले राम्रो काम गर्छ भने त्यो जुनसुकै पार्टी, क्षेत्र, वर्ग र समुदायबाट आवस् उसको समर्थन गर्नुपर्छ । हामीलाई बाबु–आमाले खर्च गरेर त्यत्तिकै पढाइएको होइन, मेरो छोरो बौद्धिक, समाजसेवी र विवेकी बनोस् भन्ने आशाले पढाएको हो । त्यसैले जुनसुकै पार्टीबाट आएका हुन् यदि कसैले समाजमा राम्रो काम गर्छन् भने त्यसलाई राम्रो भन्न सक्नुपर्छ । देशलाई राम्रो हुनुभनेको हामीलाई राम्रो हुनु हो । कसैले राम्रो काम गरेको भने त्यसको प्रसंसा गर्नुपर्छ । त्यसमा पार्टी, वाद, छुट्ट्याउने होइन । आफ्नै पार्टीभित्र पनि कसैले नराम्रो गरेको छ भने त्यसलाई गलत भन्न सक्नुपर्छ । अरु पार्टीमा पनि कसैले राम्रो काम गरेका छन् भने त्यसलाई राम्रो भन्न सक्ने क्षमता राख्नुपर्छ । अहिलेका पार्टी र नेताहरुमा त्यो क्षमता देखिँदैन । आफ्नो पार्टीको भएपनि जति गल्ती गरेपनि ठीक भन्ने अर्को पार्टीको छ भने राम्रो काम गरेपनि नदेख्ने प्रवृत्तिको विकास भएको छ । त्यसैले यदि कसैले समाजको लागि राम्रो काम गरेको छ भने त्यसलाई किन नस्वीकार्ने ? हामीले पनि यो समाजमा केही न केही परिवर्तनकारी काम गर्ने योजना लिएर आएका छौं । जनताले मत दिएर संसद्मा पुर्‍याए भने केही न केही नयाँ काम गरेर देखाउँछौं ।

तपाईंहरुलाई त गणतन्त्र विरोधी, राजावादीको आरोप छ नि ?

चुनावका बेला जसले जेपनि आरोप लगाउन सक्छन् । तर, जनताबीच कसले के काम गरेका छन्, त्यसको लागि जनताको आवश्यकता अनुसार काम गर्न सक्छन् कि सक्दैनन्, देशमा विकास र समृद्धि गर्न सक्छन् कि सक्दैनन् त्यो ठूलो कुरा हो नि । त्यसैले कसले के आरोप लगायो त्यसको पछाडि लाग्ने होइन, आफूले जनताका लागि के गर्दै आइएको छ त्यसमा ध्यान दिने हो । हामी पनि यो देशको एउटा जिम्मेवार नागरिक हो । हामीलाई पनि के गर्दा ठीक के गर्दा बेठीक हुन्छ भन्ने थाहा छ । मैले अगाडि पनि भनिसकेको छु, ‘जुनसुकै पार्टी, वादबाट आएपनि देश र जनताको लागि राम्रो काम गर्नेलाई राम्रो गर्नुभयो भनेर स्वावासी दिनसक्ने क्षमता हुनुपर्छ’ भनेर । त्यसैले हामी राजनीतिमा कसैको राम्रो, नराम्रो भनेर झगडा गर्न आएका होइनौं । कसैले कसैलाई दोष लगाएर, एकले अर्काको छुट्टा तानेर कहीं पनि पुग्न सकिँदैन । त्यसैले मलै अगाडि पनि भनेको छु, ‘हामी एक्कासौं शताब्दीका युवा हौं, देश विकासको लागि सबैले हातेमालो गरी अगाडि बढौं भन्न चाहन्छु ।’

काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट तपाईंहरुले चुनाव जित्ने आधार के ?

हामी यहाँका स्थानीय युवा उम्मेदवार हौं । हामीलाई राजनीति गरेर कमाउनु छैन । भ्रष्टाचार गरेर घर बनाउनु, गाडी किन्नु छैन । दुई छाक टार्नका लागि राजनीति गर्नुछैन । हामी आफ्नै पेशा, व्यवसायबाट खान लगाउनका लागि सक्षम छौं । राजनीतिक पद नपाउँदा पनि जनताका धेरै काम गरेका छौं । हामीसँग प्रतिस्पर्धा गर्ने धेरै उम्मेदवारहरु हाम्रा अभिभावक सरह हुनुहुन्छ । हामी परिवर्तनका लागि युवा जोश, जाँगर लिएर आएका छौं । अभिभावकले हामीलाई यतिबेला सल्लाह, सुझाव दिएर देश बनाउने युवाले हो, त्यसैले अब तपाईंहरु अगाडि बढ्नुहोस् भन्नुपर्ने हो । अहिले पनि हाम्रै प्रतिस्पर्धी अएर आउनुभएको छ । पहिलो त देश बनाउनका लागि व्यक्ति आफै स्वस्थ हुनुपर्छ । जो मानिस आफै स्वस्थ छैन, उसले देश बनाउँछ भनेर हामीले के आशा गर्ने ? त्यसको तुलनामा त युवा छौं । हामीले सत्ताबाहिर बसेर पनि जनताका धेरै काम गरेका छौं । तमाम जनताहरु हाम्रो पक्षमा उर्लिएका छन् । त्यसैले यसपटक यो क्षेत्रमा राप्रपाबाट हाम्रो जित सुनिश्चत छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *