चुनावपछि कांग्रेस भन्दा धेरै ठूलो हुन्छौ : केपी ओली

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेचको नेपालको पश्चिमतर्फको भूमि फिर्ता ल्याएरै छाड्ने दावी गरेका छन् । आफूले दार्चुला पुगेर भारतले मिचेको भूमि फिर्ता ल्याउने भनेर गरेको भाषणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको जवाफबारे उनले यस्तो बताएका हुन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीले सोमबार गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उनले देउवामाथि कटाक्ष समेत व्यक्त गरे ।

‘हामीले हाम्रो भूमि फिर्ता ल्याउँछौँ भन्दा कोही छिमेकी रिसाउँछन् भन्ने तनाव किन लिनु ? मात्रिकाप्रसाद कोइरालाले चीनतर्फ राखेका भारतीय सेनाका १७ वटा चेक पोस्ट वार्ता गरेर हटाएकै हो’, उनले थपे, ‘तर देउवाजीले सीमामा गएर लडेर ल्याउने हो र भूमि भनेछन् । बन्दुकले मान्छे मार्ने मात्रै हो, प्रचण्डको संगतले होला देउवा पनि बन्दुकको भाषा बोल्न थाले ।’

उनले देउवामाथि कटाक्ष गर्दै भारतले लगाएको नाकाबन्दीका बेला चुइँक्क नबोलेको पनि आरोप लगाए । ‘नाकाबन्दी लाग्दा चुइँक्क बोल्न सकेनन् । घरमा चुल्हो निभेको छ तर सीमामा आएको समस्याले यस्तो भयो भने’, उनले भने, ‘तुइन काटेर नेपालीलाई खोलामा झारेर ज्यान लिँदा पनि बोलेनन् । होइन, कति साह्रो घुँडा टेक्न सकेको ?’

‘चुनावपछि कांग्रेस भन्दा धेरै ठूलो हुन्छौ’

अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार पोखरामा आयोजित एमालेको कार्यक्रममा उनले कांग्रेस भन्दा धेरै ठूलो पार्टी बन्ने बताएका हुन् ।

‘अहिले के–के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ । कांग्रेसको जति भोट ल्याउँछ एमालेले भन्ने इम्प्रेसन पार्न खोजिएको छ’ ओलीले भने, ‘तर, नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, सानो मार्जिनले होइन, अत्याधिक बहुमतले सबभन्दा अगाडि हुन्छ ।’

एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई सरकारमा सामेल गर्ने ओलीको भनाइ छ । ‘एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । यसको अर्थ अर्कालाई सरकारमा सामेलै गराउँदैन भन्ने होइन, सामेल गरिन्छ । तर, फेरि पनि त्यो एमालेकै सरकार बन्छ’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *