सहकारीको सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्न महासंघको माग


काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तत्काल सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सरोकारवाला पक्षसँग माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न र सन्दर्भ व्याजदरलाई क्यापिंगको रूपमा नभई बजार अनुरुप स्वचालित रुपमा व्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय समक्ष माग गरेको छ । वित्त बजारमा व्याजदरमा उतारचढाव आउदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा निर्धारण भएको सन्दर्भ व्याजदरले समेत थप प्रतिकुल अवस्था सिर्जना गरेको महासंघको ठहर छ । अहिलेको परिस्थितिमा सन्दर्भ व्याजदरलाई तत्काल पुनरावलोकन गर्नका लागि महासंघले पटक पटक अभियानको तर्फबाट सुझाव पठाउदै आएको भएतापनि हालसम्म सन्दर्भ व्याजदर पुनरावलोकन नहुन दुःखद विषय भएको जनाएको छ । पछिल्लो समय विभिन्न कारण सदस्यहरूमा लगानी भएको सांवा व्याज असुलीमा समस्या आई सहकारी संघ संस्थाको भुक्तानी सन्तुलन प्रभावित भएको महासंघको भनाइ छ । महासंघले सहकारी संघ(संस्थाको वित्तीय जोखिम न्यूनीकरण गर्न ऐन नियमावलीमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधीकरण, वचत तथा कर्जा सुरक्षण गठनमा ढिलाई भएका कारण सहकारी संघ संस्थामा जोखिम बढदै गएको जनाएको छ । सहकारी संघ संस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, वचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्यायधीकरणको अविलम्व गठनका लागि सरकारसँग माग गरेको छ ।
महासंघले सहकारी संघ संस्थाहरूले आफ्नो सदस्यहरूसंग नियमित सम्पर्क तथा समन्वय गरी सेवा प्रवाह गर्न, वित्तीय सुशासन कायम गर्न, जोखिम विश्लेषण गरेर कारोवार गर्न, सामान्य अवस्थामा भन्दा अधिक तरलता कायम राख्न, खर्चमा मितव्ययिता अपनाउन तथा खराव कर्जा असुलीमा विशेष ध्यान दिन आग्रह गरेको महासंघले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *