सत्ता गठबन्धनको संयुक्त अपिल : राष्ट्रिय महोत्सवका साथ मतदानमा सहभागी हुनुहोस्

काठमाडौँ । संविधानको भावना अनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि देशव्यापी रुपमा सत्ता गठबन्धनमा आवद्ध उम्मेदवारलाई विजयी गराउन गठबन्धन आवद्ध प्रमुख चार पार्टीका अध्यक्षले आग्रह गरेका छन् ।

गठबन्धनका तर्फबाट आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उनिहरुले आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज संयुक्तरुपमा जारी गरेका विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा नै गठबन्धनको पक्षमा देशव्यापी रुपमा जनलहर आएको र नेता कार्यकर्तामा उत्साह पैदा भएको संयुक्त अपिलमा उल्लेख छ ।

अपिलमा भनिएको छ, “देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लङ्घन गरी दुई(दुई पटक गरेको प्रतिनिधिसभाको विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनुका सट्टामा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।”

डेढवर्षको अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा स्थानीय निर्वाचन सम्पन्न गरेको र त्यसमासमेत सहकार्य रहेको उल्लेख गर्दै अपिलमा यस निर्वाचनमा समेत गठबन्धन एक ठाँउमा उभिएको स्पष्ट पारिएको छ ।

संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दर्दामा माथि उठाउने लक्ष्यका साथ सङ्कल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेको स्मरण गरिएको छ ।

गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ(आफ्नो पक्षमा मत माग्नु स्वभाविक नै भएको अपिलमा उल्लेख छ । अपिलमा भनिएको छ, “समानुपातिकतर्फ सबै पार्टीले आ(आफ्नो पक्षमा मत माग्नु स्वभाविक हो । यसले गठबन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन ।

गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावनाअनुरुप राजनीतिक स्थायित्व दिने हो ।” यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनकारी पक्षधरको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपरेको उल्लेख गर्दै संयुक्त अपिलमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन आम मतदाता समक्ष आग्रह गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *