एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने अस्पतालका लागि ५० लाख


सरकारले एसिड आक्रमणमा परेका पीडितहरूको कस्मेटिकबाहेक सबै उपचार आजीवन निःशुल्क गर्दै आएको छ । निःशुल्क उपचारका लागि काठमाडौं उपत्यकाका चार ठूला अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा तोकिएको छ । ती अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गरेबापत सरकारबाट शोधभर्ना रकम पाउँछन् । यो वर्ष एसिड आक्रमणमा परेका पीडितको औषधि उपचारबापत अस्पतालहरूलाई शोधभर्ना शीर्षकमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
निःशुल्क उपचार हुने चार अस्पताल
एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि, २०७८ अनुसार एसिड आक्रमणमा परेकाहरूको निःशुल्क उपचारका लागि पहिलो चरणमा चार अस्पताल तोकिएको छ । वीर, त्रिवि शिक्षण अस्पताल, पाटन र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पताल तोकिएको छ ।
निःशुल्क उपचार पाउन के गर्नुपर्छ ?
एसिड आक्रमणमा परेका पीडितलाई नजिकैको जुनसुकै अस्पतालले अनिवार्य निःशुल्क प्राथमिक उपचार गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । सोहीअनुसार पीडितले घटना भएको नजिकैको स्वास्थ्य संस्थामा सहजै सेवा पाउन सक्छन् । थप उपचारका लागि सो स्वास्थ्य संस्थाले रिफर लेटरसहित डेडिकेटेड अस्पतालमा पठाउनुपर्नेछ । यसरी रिफर गरी पठाइएका अस्पतालमा उपचार सम्भव नभए सो अस्पतालबाट पनि विशिष्टिकृत सेवासहितको अस्पताल वा डेडिकेटेड अस्पतालमा रिफर गर्नेछन् । डेडिकेटेड अस्पतालहरूमा कस्मेटिकबाहेक एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण उपचार सरकारले आजीवन निःशुल्क गर्नेछ । उपचार प्रक्रिया प्रहरीले दिएको प्रतिवेदनका आधारमा हुने कार्यविधिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *