दाङ–१ मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी

काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गर्नुभएको हो ।

विजयी खड्काले १६ हजार दुई सय २२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १३ हजार एक सय ७० मत पाउनुभएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले पाँच हजार एक सय ३९ मत पाउनुभयो ।

निर्वाचित खड्काले रासससँग कुरा गर्दै जनताले दिएको मतको कदर गर्दै समग्र दाङको विकासमा आफूले खटेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कलिलो युवकलाई यति धेरै विश्वास गर्दिनुभयो, म यो विश्वासलाई आत्मसात् गरेर अगाडि बढ्ने छु ।”

दाङ–१ मा जम्मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये प्रदेश (१) मा ४० हजार एक सय छ र प्रदेश (२) मा ३८ हजार पाँच सय ९२ गरी कुल ७८ हजार छ सय ९८ मत खसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.