२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जीत

काठमाडौँ । नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहनुभएका खमबहादुर गर्वुजा (खमवीर) तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

वि.सं २०५६ मा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी हुनुभएको थियो । गर्वुजा यसअघि वि.सं २०७० को आमनिर्वाचनमा नेकपा (एमाले)का नवराज शर्मा र २०७४ सालको निर्वाचनमा एमालेकै भूपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो ।

त्यसैगरी वि.सं २०६४ मा समानुपातिकतर्फ नाम सिफारिस हुनुभए पनि सांसद हुन भने पाउनुभएन । तर आइतबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक–वामगठबन्धनको तर्फदेखि उम्मेदवार बन्नुभएका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गर्नुभएको हो । गर्बुजाले २४ हजार २१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार एक सय ८९ मत प्राप्त गर्नुभयो । जिल्लामा ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो ।

निर्वाचित भएसँगै गर्बुजाले आफ्नो जीतलाई म्याग्दीवासीको जित भएको बताउनुभयो । “म जनताको सेवक भएर काम गर्ने छु, मेरो सामथ्र्यले भ्याएसम्म म्याग्दीलाई विकासको फल चखाउने प्रयास गर्ने छु”, उहाँले भन्नुभयो ।

गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई वि.सं २०५४ मा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा राजनीति गर्दै आउनुभएको छ । वि.सं २०५४ मा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमिनुभएका गर्बुजाको २०२२ सालमा रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दग्नाम गाउँमा जन्मनुभएको थियो ।

गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौंँ जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौंँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *