अर्थतन्त्र गम्भीर संकटमा छ,अहिले सचेत भएनौं भने मुलुक दुर्घटनामा पर्छ ः उद्योग वाणिज्य महासंघ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र कठिन अवस्थामा रहेको बताएका छन् । अर्थतन्त्र जोगाऔं थिममा गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रथम त्रैमाशिक समीक्षाले अर्थतन्त्रमा देखिएका समस्या समाधान नगर्ने बताए । अहिले अर्थतन्त्रमा देखिएको समस्या उद्योगी व्यवसायीको मात्रै होइन, गोल्छाले भने, बढ्दो महँगीले सर्वसाधारणलाई दैनिकी चलाउन कठिन भएको छ । सरकारी राजश्वले साधारण खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको छ । तपाईंहरुले अहिले देखिएको समस्यालाई उद्योगी व्यवसायीको समस्या, ब्याजदरको समस्याको रुपमा मात्रै बुझ्नु हुँदैन । नियामकीय अपरिपक्ताले अर्थतन्त्रमा समस्या देखिएको गोल्छाले बताए । कोरोना महामारीमा व्यवसायिक गतिविधी नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता उत्पादन मुलक क्षेत्रमा नजाँदा अर्थतन्त्र समस्या आएको उनले बताए । बैंक तथा वित्तीय संस्थाले धान्न नसक्ने गरी कोरोना महामारीमा कर्जा लगानी गर्दा विदेशी मुद्राको सञ्चिति घट्यो र अर्थतन्त्र समस्यामा परेको हो , गोल्छाले भने, विदेशी मुद्राको सञ्चिति एक वर्षमा १७ प्रतिशतले घट्यो । अर्थतन्त्रमा समस्या देखिएपछि एक्कै पटक ब्रेक लगाउँदा अर्थतन्त्र संकटमा देखिएको हो । कोरोना महामारीपछि कर्जाको माग बढेको तर निक्षेपभन्दा बढी कर्जा प्रवाह हुँदा अर्थतन्त्र समस्या परेको गोल्छाले बताए । कोरोना महामारीको नियामक निकाय सचेत भएको अहिले कृतिप रुपमा माग नियन्त्रण गर्नु पर्ने अवस्था आउने थिएन, गोल्छाले भने ‘निर्माण क्षेत्रको कारोबार ७० प्रतिशतले घटेको छ, दैनिक उपभोग्य सामानको कारोबार १८ प्रतिशतले, विद्युतिय उपकरणको कारोबार, ५५ प्रतिशत, अटोमोबाइलको कारोबार ७५ प्रतिशत, बीमा क्षेत्रमा ३० प्रतिशतले, रेष्टुरेन्टको २० प्रतिशत, होटलको अकुपेन्सी ३० प्रतिशतले घटेको छ । शेयर बजार ४० प्रतिशत र घर जग्गा कारोबार ४८ प्रतिशतले घटेको छ । राजश्वले चालू खर्च धान्न नसक्ने अवस्था आएको र मुलक संकटमा जाने अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘चालू खर्च यसै गरि बढ्यो भने कर्मचारीलाई तलब दिन समेत ऋण लिनु पर्ने अवस्था आउँछ, गोल्छाले भने, सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन आयात नियन्त्रण गर्ने नीति लियो । तर, बजारमा कुनै पनि सामानको अभाव छैन । सबै समान भन्सार छलि भएर आइरहेको छ ।
बैंक तथा वित्तीय संस्थाले निक्षेप बढाउने भन्दै ब्याजदर बढाएपनि निक्षेप बढ्नु भन्दा पनि कर्जाको ब्याजदर मात्रै महँगो भएको गोल्छाले बताए ।
गोल्छाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंकले गत कात्तिक १ गतेबाट कार्यान्वयनमा आएको चालू कर्जा सम्बन्धी नीति २ वर्षलाई स्थगित गर्नु पर्ने माग गरे । गोल्छाले ब्याजदर नघट्दा सम्म अर्थतन्त्रलाई लयमा राख्न कठिन हुने भएकाले केन्द्रीय बैंक र सरकारले ब्याजदर घटाउने गरी नीति लिनु पर्ने माग गरे । सरकारी ढुकुटीमा रहेको रकम तरलता प्रवाह गर्न प्रयोग गर्नु पर्ने, अनिवार्य नगद मौज्दातको व्यवस्था घटाउनु पर्ने, पुर्नकर्जालाई निरन्तरता दिनु पर्ने लगायतका नीति लिनु पर्ने गोल्छाको माग छ । वैदेशिक लगानी बढाउन स्वचालित प्रक्रिया कार्यान्वयन गर्नु पर्ने, नेपालको कन्ट्री रेटिङ प्रक्रिया शुरु गर्नु पर्ने, निजी क्षेत्रलाई विदेशिक ऋण लिन सहजिकरण गर्नु पर्ने लगायतका नीति तत्कालन लिन महासंघले सरकारलाई सुझाव दिएको बताए । महासंघले दिएका सुझाव कार्यान्वयन भएमा ब्याजदर घट्नुका साथैं निजी क्षेत्रको आत्मविश्वास बढेर लगानी समेत बढ्ने गोल्छाले दाबी गरे । ‘यथास्थितिमा व्यवसाय गर्न नसक्ने अवस्था छैन । आन्दोलन गर्नु निजी क्षेत्रको रहर होइन, गोल्छाले भने, हामीले सचेत भएर अर्थतन्त्रलाई जोगाएनौं भने मुलुक गम्भीर दुर्घटना पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *