कांग्रेसबाट महिलातर्फ को–को बन्नेछन् समानुपातिक सांसद, पुरुष जम्मा तीन जना


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ ३२ सिट निश्चित भएको छ । प्रतिनिधिसभामा प्रत्यक्ष ५७ र समानुपातिक ३२ सिटसहित कांग्रेसको सिट ८९ पुग्ने देखिएको छ । राष्ट्रियसभाका १० सदस्य र प्रतिनिधिसभाका ८९ सदस्य गरी संघीय सांसदमा कांग्रेसको कुल संख्या ९९ पुग्ने सम्भावना छ । संघीय संसदमा रहने प्रतिनिधित्वका आधारमा संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ २९ जना महिलालाई अनिवार्य रुपमा पठाउनु पर्ने बाध्यता कांग्रेसलाई छ । सबै दलले कम्तिमा ३३ प्रतिशत महिला सांसद अनिवार्य निर्वाचित गराउनुपर्ने संवैधानिक व्यवस्था छ । दलहरूले यो ३३ प्रतिशत अनुपात राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैतर्फ जोडेर पु¥याउनुपर्ने हुन्छ । कांग्रेसको राष्ट्रियसभामा १५ सदस्य छन् । ३ जना महिला छन् । अहिलेसम्म प्रतिनिधिसभामा प्रत्यक्ष ५५ सिट जितेको कांग्रेसबाट १ जना सीता गुरुङले मात्रै जितेकी छिन् । ९९ सिटबाट ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न कांग्रेसले प्रतिनिधि सभामा विजयी १ र राष्ट्रिय सभामा रहेका ३ महिलाको संख्या घटाएर अब २९ जना महिला अनिवार्य रुपमा सांसद बनाउनुपर्ने भएको छ । कांग्रेसले खस–आर्य महिलाबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल कार्कीलाई सांसद बनाउने सम्भावना छ । सेजुवाल र कार्कीलाई खस–आर्य महिलाबाट पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै कांग्रेसले बन्दसूचीमा राखेको छ । कांग्रेसले आदिवासी–जनजाती क्लस्टरबाट सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, र कुसुम थापा मगरलाई सांसद बनाउने सम्भावना अधिक छ । थारु कलस्टरबाट कल्पना चौधरी र विनाकुमारी थनेत समानुपातिक सांसद हुने सम्भावना छ । दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र विष्णुमाया परियार सांसद बन्ने सम्भावना छ । कांग्रेसले नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी मण्डललाई मधेशी कलस्टरबाट सांसद बनाउने सम्भावना छ । मुस्लिम कलस्टरबाट जावेदा खातुन जागालाई समानुपातिक सांसद बनाउनुपर्ने हुन्छ । कांग्रेसले समानुपातिकतर्फ पाएका ३२ सिटमध्ये २९ महिला पठाएपछि बाँकी रहेको ३ सिट मात्र पुरुषको भागमा पर्ने छ ।खस–आर्य पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा प्रवक्ता डा.प्रकाशशरण महत छन् ।
आदिवासी जनजाती पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा नेता गोपालमान श्रेष्ठ छन् । मधेशी पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा नेता विमलेन्द्र निधि छन् । थारुको पुरुषतर्फ योगेन्द्र चौधरी १ नम्बरमा छन् । दलित पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा जीवन परियार छन् । विद्यमान संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा आदिवासी–जनजाती २८.७० प्रतिशत, खस–आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी १५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनैपर्छ । संवैधानिक व्यवस्थाअनुसार खस–आर्य र आदिवासी–जनजातीको प्रतिनिधित्व गराउनुपर्ने प्रतिशत बढी भएका कारण महत र श्रेष्ठको समानुपातिक सांसद बन्ने सम्भावना अधिक रहेको छ । बाँकी रहेको १ सिटमा प्रतिनिधित्वको प्रतिशतका हिसाबले निधिको समानुपातिक सांसद बन्ने सम्भावना बढी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *