प्रधानमन्त्रीलाई प्रकाशमानको ध्यानाकर्षणपत्र


काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यसका लागि आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग सम्बोधन गर्नुपर्ने लगायतका सुझाव नेता सिंहले दिएका छन् । केही दिन अगाडि मेलम्ची खानेपानी आयोजना स्थल पुगेर फर्किएका नेता सिंहले प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरवासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं । तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायीरुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौं ।आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएको भन्दै सिंहले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने सुझावसमेत दिएका छन् । हाल हिउँदमात्र काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानीलाई सधैंभरी निर्वाध रुपमा काठमाडौं उपत्यकामा वितरणको व्यवस्था मिलाउन तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बुँदाहरु उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *