चक्रपथ बिस्तारको कामलाई छिटो अघि बढाउन पौडेलको निर्देशन


काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् ।  ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ विस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिएका हुन् । उनले चक्रपथ विस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटो भन्दा छिटो बाँकी रहेका कामलाई अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले विष्णुमति र सामाखुसी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक बिस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न आग्रह गरे । उनले चक्रपथ बिस्तार गर्दा ढल निकासको समस्यालाई पनि समाधान हुनेगरी गर्नुपर्ने बताए ।उनले भने– ‘रिङरोड वरिपरि पचास मिटरभित्र सामानहरु हटाउनु, सफा गर्न १५ दिने सूचना जारी गरेको छ यो कार्यालयले । तोकिएको समयभित्र उहाँहरुले सफा गर्ने भन्नुभएको छ । विष्णुमति खोला, सामाखुशी खोला लगायत थुप्रै खोलाहरु वर्षातमा पानी बढेर बस्ती नै डुबानमा पर्ने स्थिति छ । ढलको क्षमता असाध्यै कम भएको कारणले बस्ती डुबानमा पर्ने स्थिति छ । सडक निर्माणको क्रममा जुन ढल निकासको प्रवन्ध हुन्छ, त्यो प्रवन्ध अलि बढी क्षमताको होस् । अहिलेको समस्या हल हुनेगरी होस् । ढल निकासको समस्यालाई रिङ रोड बिस्तारको क्रममा ध्यान दिएर समाधान गरियोस् भनेर हामीले कुरा गर्यौँ ।उनले स्थानीय समस्याहरुको समाधान गर्दै दोस्रो चरणको कलंकीदेखि वसुन्धरासम्मको सडक बिस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल शुरु गर्न आग्रह गरे । उनले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग पनि आफूहरुले कुरा गर्ने भन्दै चक्रपथ बिस्तारलाई छिटो अगाडि बढाउने परिस्थिति निर्माण गर्न लागि पर्ने बताए ।
उनले भने– ‘कलंकीदेखि वसुन्धरासम्म रिङरोड बिस्तारको दोस्रो चरण भनेर भनिएको छ । वसुन्धरादेखि चाबहिल धोबिखोलासम्मको तेस्रो चरण छ । त्यहाँ पनि विभिन्न खाले समस्याहरू छन् । त्यसैले त्यो तेस्रो चरणको कार्यक्रम पनि तत्काल शुरु गरियोस् भनेर अर्को कुरा राखेको । रिङ रोड बिस्तारको कामलाई छिटो, प्रभावकारी र समस्यारहित हुनेगरी अगाडि बढाइयोस् भन्नका लागि हामी यहाँ आएका हौँ । अर्थ मन्त्रालय भित्रको चाइना एड, भौतिक पूर्वाधार मन्त्रालयसँग पनि कुरा गर्छौं । र चक्रपथ विस्तारको काम हामीले छिटोभन्दा छिटो अगाडि बढाउने परिस्थिति निर्माण गर्छौं ।
नेता पौडेसँगको छलफलपछि प्रतिक्रिया दिँदै काठमाडौं चक्रपथ सुधार योजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीले दोस्रो चरणको काम अन्तर्गत कलंकी वसुन्धरासम्मको सडक खण्डमा काम भइरहेको बताए । उनले उपभोक्ताहरूले ढल निर्माणको माग राखेको र स्थान अपुग भएका कारण ढल हाल्न नसक्ने समस्या परिरहेको भन्दै यस सम्बन्धमा स्थानीयसँग छलफल भइरहेको उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *