धुँवा फाल्ने सवारीलाई १ लाख जरिवाना


काठमाडौं । वातावरण विभागले पुस १ गतेदेखि प्रदुषण पास भएका सवारी साधन मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । पुस १ गतेदेखि प्रदुषण जाँच पास हुन नसक्ने सवारी साधनहरु सञ्चालनमा ल्याए १ लाख रुपैयाँ जरिवाना तिराउने वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वातावरण विभागले बताएको हो
विभागले पछिल्लो समयमा गरेको छड्के जाँचमा काठमाडौं उपत्यकामा सञ्चालन भईरहेका सवारी साधनहरुको धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाईएको बताएको छ । आगामी दिनमा विभागले सवारी साधनको धुँवा निस्कासनको अवस्थाको परिक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्ने विभागले बताएको छ । हाल सवारी साधनमा धुँवा परिक्षण गर्दा तोकिएका मापदण्ड भन्दा बढी प्रदुषण गरिरहेका सवारी साधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिईएकोमा २०७९ साल पौष १ गते पछी विभागको परिक्षणमा प्रदुषण जाँच पास हुन नसक्ने सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना हुने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सिमासम्म मात्र प्रदुषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन हुन सबै यातायात व्यवसायी तथा सम्बन्धित सबैमा आग्रह छ,’ विभागले प्रकाशन गरेको सूचनामा उल्लेख छ । हिउदको मौसममा काठमाण्डौं उपत्यका लगायत देशका धेरै ठाउँहरुमा वायु प्रदुषणको अवस्था विग्रदै गएको विभागले बताएको छ । वायु प्रदुषणका मुख्य कारकहरुमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला रुपमा फोहोर जलाउँदा निस्कने धुँवा रहेको छन् । ‘जुनसुकै समयमा वातावरण विभागबाट छड्के जाँच हुन सक्ने र प्रदुषण जाँचपासको रुपमा यसअघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदुषण जाँचपास अनुतिर्ण हुने सवारीलाई समेत उल्लिखित व्यवस्था बमोजिम जरिवाना लगायतका कारवाही हुने छ ।
साथै, आफ्नो टोल, छरछिमेकमा खुला रुपमा कोही कसैले फोहोर जलाउने कार्य गरेमा वातावरण विभागलाई जानकारी गराउन भनेको छ । जानकारी दिनेको परिचय गोप्य राखि दोषीमाथि नियमानुसारको कारवाही हुने विभागले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *