भारतीय राजदूतको राजनीतिक भेट


काठमाडौं । नेपालमा विदेशी चलखेल र चासो धेरै हुने गरेको छ । त्यसै क्रममा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन् । निर्वाचनको मतगणना जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेटघाट सुरू गरेका श्रीवास्तवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरे । निर्वाचन आयोगले चुनाव सम्पन्न भएका दुवै तह प्रदेशसभा र प्रतिनिधिसभाको अन्तिम मत परिणाम सार्वजनिक गरे पनि दलहरूले समानुपातिकतर्फ जाने सांसदको सूची अझै बुझाइसकेका छैनन् ।
अहिले गठबन्धन र राजनीतिक दलहरूबीच चुनावी समीक्षा चलिरहेको छ भने नेताहरू नयाँ सरकार गठनका लागि सत्ता समीकरणका विषयमा समेत अनौपचारिक छलफलमा व्यस्त छन् । यहीबेला भारतीय राजदूत श्रीवास्तवको दौडधुप बढेको छ । नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुन्छ भन्ने गरिएकाले भारतीय राजदूतको अहिलेको सक्रियतालाई चासोका साथ हेरिएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका श्रीवास्तवले करिब एक घण्टाभन्दा बढी बालकोटमा बिताएका थिए । भेटका क्रममा ओलीसँग राजदूत श्रीवास्तवले चुनावमा विजयी भएको बधाई दिएका थिए भने नयाँ सरकार गठनका विषयमा समेत चासो राखेका थिए । ‘निर्वाचन सम्पन्न भएपछि अध्यक्षलाई बधाई दिन आउनु भएको रहेछ । हाम्रो पार्टीले पाएको लोकप्रिय मतको प्रशंसा गर्दै बधाई दिनुभयो । साथै, दुई देशको सम्बन्धका विषयमा पनि छलफल हुने नै भयो, एमालेका एक नेताले भने, ‘चुनावपछि नयाँ सरकार गठन हुने हुँदा त्यस विषयमा पनि स्वाभाविक चासो राख्नु भयो । सत्ता समीकरण र सरकार गठन कसरी हुन सक्छ भन्ने सामान्य जिज्ञासा उहाँको थियो ।श्रीवास्तवले एमाले अध्यक्ष ओलीलाई भेट्न जानुअघि बुधबार नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत भेट गरेका थिए । राजदूत श्रीवास्तवले यसअघि प्रधानमन्त्री देउवालाई मात्रै दुईपटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेट गरिसकेका छन् ।
निर्वाचनको मतगणना जारी रहेकै बेला गत १० मंसिरमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । प्रचण्डसँगको भेटमा समसामयीक राजनीति र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको थियो । सोही दिन बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग एक्लाएक्लै भेट गरेका श्रीवास्तवले १७ मंसिरमा दोस्रोपटक भेट गरेका थिए । दोस्रो भेटमा देउवा डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचनमा निर्वाचित भएकोमा बधाई दिएको बताइएको थियो । तर त्यसअघि उनी निर्वाचनको मत परिणामसमेत सार्वजनिक नहुँदै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार र प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।
देउवासँगको भेटबारे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले नियमित भेटघाट भएको र समसामयिक विषयमा छलफल भएको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट हुन पाएको थिएन । चुनावअघि आचारसंहिताका कारण कूटनीतिक वृत्तसँग भेट हुन सकेको थिएन । अहिले मतदान सकिएपछि भेट भएको हो, उनले भने, ‘भेटमा नेपाल–भारत सम्बन्ध, समसामयिक विषयमा छलफल भएको हुनसक्छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको थियो । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टु वान’ छलफल भएको थियो । तर भेटमा के विषयमा छलफल भयो भन्ने अझै सार्वजनिक भएको छैन । भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुनसक्ने अनुमान गरिएको छ । राजदूतसँग भेट भएको भोलिपल्ट शनिबार बिहानै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरूले बताएका थिए । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले दुई नेताबीचको उक्त भेटमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको जानकारी दिएका थिए । त्यसपछि निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै बसेको गठबन्धनका दलहरूको बैठकले अहिलेका गठबन्धनलाई कायम राख्ने निर्णय गरेका छन् ।
आज नै अमेरिकी राजदूत डिन थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकी राजदूत थम्पसनसँग आफ्नो पार्टीको कार्यालयमा भएको भेटका विषयमा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
‘नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत महामहिम डी.आर. थम्प्सनद्वारा शिष्टाचार भेटका सन्दर्भमा हाम्रो पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै भेटमा स्वागत एवम् कार्यकाल सफलताको कामना सहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भयो, अध्यक्ष नेपालले फेसबुकमा लेखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *