समानुपातिक मतगणना सम्पन्न : यी चार प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने

काठमाडौं । आम निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणनासमेत सम्पन्न गरी दलहरुको सिट संख्या निर्धारण गरिसकेको छ । यस आधारमा सात वटा प्रदेशमध्ये चार वटा प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने समीकरण बनेको छ । बाँकी तीन वटा प्रदेशमा भने सत्ता गठबन्धनले बहुमत जुटाउन अन्य दललाई समेत साथ लिनुपर्ने अवस्था देखिन्छ । यी हुन् सजिलै सरकार गठन हुने प्रदेश ११० सदस्यीय बागमती प्रदेशमा पनि सत्तारुढ गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १२ गरी नेपाली कांग्रेसले ३७ सिट प्राप्त गरेको छ ।

सत्तारुढ गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रले प्रत्यक्षतर्फ १४ र समानुपातिकमा ७ गरी जम्मा २१ सिट प्राप्त गरेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ ५ र समानुपातिकमा २ गरी जम्मा ७ सिट पाएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका यी तीन वटै दलको सांसदसंख्या ६५ हुन्छन्, जो बहुमतका लागि पूर्ण हो ।

६० सदस्यीय गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने देखिन्छ । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सांसदका साथ पहिलो दलका रुपमा स्थापित भएको छ ।

सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ३ गरी जम्मा ८ सांसदसहित प्रतिनिधित्व गर्दैछ । गण्डकी प्रदेशमा प्रस्ट बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्दछ । यो आँकडा कांग्रेस र माओवादी केन्द्र मिलेर सहजै पुग्ने देखिन्छ ।

यस्तै, ४० सदस्यीय कर्णाली प्रदेशसभामा पनि सत्ता गठबन्धनको बहुमत सहजै पुग्ने देखिएको छ । यो प्रदेशमा नेपाली कांग्रेस प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ५ सहित जम्मा १४ सांसदसहित ठुलो दल बनेको छ । यस्तै, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ४ सहित १३ सिट सुरक्षित गरेको छ ।

कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक हुन्छ, जो कांग्रेस र माओवादी केन्द्र मिलेर सहजै प्राप्त हुने देखिन्छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा ५३ सांसद रहन्छन् । सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ ।

यो प्रदेशमा प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी जम्मा १९ सांसदसहित नेपाली कांग्रेस ठुलो दलका रुपमा स्थापित भएको छ । यस्तै, सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र ८ प्रत्यक्ष र ३ समानुपातिकगरी ११ सांसदका साथ दोस्रो पोजिसनमा छ । यो प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्र मिलेर सहजै बहुमतको आँकडा पार गर्ने देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *