नेपाली कांग्रेसभित्र शुद्धिकरणको आवश्यकता छ


नेपाली कांग्रेसका उदीयमान नेता हुन् सञ्जय गौतम । बर्दियाका स्थानीयवासी गौतम नेपाली कांग्रेसका केन्द्रीय पनि छन् । उनी बर्दिया निर्वाचन क्षेत्र नम्बर १ नवनिर्वाचित सांसद गौतम अहिलेको संसद्ले बलियो सरकार बन्ने सम्भावना कम भएको बताउँछन् । सत्तागठबन्धनको अवस्था सन्तोषजनक रहेपनि आशातित उपलब्ध हात लाग्न नसकेको बताउँछन् । अब नेपाली कांग्रेसलाई सुधार गर्नुपर्ने भएकाले त्यसको लागि आफूबाट सुरु गर्ने गौतमको भनाइ छ । अहिलेको जनादेश सबै दलहरु मिलेर अगाडि बढ भन्ने खालको आएकाले त्यसमा राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताउँछन् । उनै नवनिर्वाचित सांसद गौतमसँग सम्पन्न निर्वाचनसँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश ः

तपाईंले विगतमा राम्रो काम गरेकाले यसपालि राम्रो मत पाउनुभएको हो ?
मैले त राम्रो काम गरेकाले बर्दियाका जनताले मलाई माया गर्नु भएको हो । म आम जनताको मन र मुटुमा छु । सबै जनताले मलाई माया गर्नुहुन्छ । र उनीहरूले मलाई आदर पनि गर्नुहुन्छ । र अवसर पनि दिनुभएको छ । महान् छन् बर्दियाली जनता । म उहाँहरूप्रति धेरै नै आभारी छु । तर मैले पनि सोचेजस्तो र चाहेको जस्तो गर्न भने सकेको छैन । अब यो कालखण्डमा चै मैले आफूलाई त्यही फोकस गर्ने सोचेको छु ।
त्यहाँका जनताले तपार्इंं राम्रो अभिमत दिएर पठाएका छन् अब बर्दियाको लागि के गर्नुहुन्छ ?
बर्दियामा जे÷जति भयो यो पाँच, सात वर्षको बीचमा भयो । अब यो कालखण्डमा चैं पक्का पनि केही हुन्छ । मेरो जिल्लामा सुकुम्बासीको समस्या छ । उनीहरूलाई लालपुर्जा दिनु पर्नेछ । गुलरियामा नाका खोल्नुपर्नेछ । मालसामान निकास गर्न पाइएको छैन । कर्णालीसम्म पुग्नु पर्नेछ । कर्णालीसम्म पुग्ने बाटो छैन । नदीका तटबन्धका कामहरू अलपत्र परेका छन् । राष्ट्रिय गौरवका योजनाहरू छन् तर तिनीहरूले पूर्णता पाएका छैनन् । बाटोघाटो र कनेक्टिभिटीमा एकदम पछाडि छौं हामी। धेरै कुराहरू गर्नुपर्नेछ बर्दियाको समृद्धिका लागि । हाम्रा युवाहरू सारा बेरोजगार छन् । हामीले अहिलेसम्म जिल्लाको विकासका लागि केही गर्न सकेका छैनौं । राजनीति पनि स्थिर हुन सकेको छैन ।
अब देशमा कांग्रेसले साच्चिकै स्थिरता ल्याउँछ त ?
हामीले त्यो कुरा त संविधानमै व्यवस्था गरेका छौं । दुई वर्षको एउटा सरकार बनेपछि त्यसलाई चलाउन पाइँदैन भनेर । अलिकति स्थिर र संवैधानिक प्रावधानले पनि ती कुराहरू राखेको छ । अब सोचेको जस्तो बलियो सरकार त नबन्ने भयो । संसद् त अब अलिकति कमजोर प्रकृतिकै बन्ने भयो । तर पनि जनताको जनादेश हो । जनताले सबै मिलेर जाउँ भनेर सन्देश दिएका छन् । सबै मिलेर अगाडि जानुपर्छ ।
यसपालिको निर्वाचनमा सत्तागठबन्धन सफल सफल भएको हो ?
सत्तागठबन्धनले जति सफलता हासिल गर्नुपर्ने हो त्यति देखिएन । त्यो पनि ठाउँ र उम्मेदवार हेरेर सफल असफल भएको पाइयो । किन भने कुनै ठाउँमा राम्रो सफलता देखिएको छ ।
त्यसो भए कमजोरी कसरी भयो त ?
अहिले अलि बेला भइसकेको छैन । म काठमाडौं जान्छु अनि यसमा मूल्यांकन हुन्छ अहिले जिल्लामै छु । मेरा पनि अनुभूतिहरू छन्, मेरा पनि अनुभवहरू छन् । मैले यसलाई भित्रदेखि नै नियालेको छु । म काठमाडौं गएपछि मात्र मैले यो कुरा भन्न सक्छु यहाँ बसेर अहिले नै यस विषयमा केही बोल्न सक्दिनँ ।
कम्युनिस्टहरूको आपसी झगडाका कारण सत्ता नेतृत्वमा कांग्रेस पुग्यो, कम्युनिस्ट नेतृत्वको साढे तीन वर्ष र कांग्रेस नेतृत्वको डेढ वर्षको सरकारलाई कसरी तुलना गर्नुहुन्छ ?
त्यो साढे तीन वर्ष र यो साढे दुई वर्षमा तात्विक भिन्नता छैन । हामीले खाली संविधानलाई जीवन्तता दिन मात्र सरकार बनाएका थियौं । एउटाले संविधान सिध्याउन खोजेको थियो हामीले त्यसलाई बचायौं भन्ने हो । तर शासन सत्ता सञ्चालन गर्ने क्रममा जनताले कुनै नवीनतम अनुभूति गर्न भने पाएका छैनन् । जनताले नयाँपनको कुनै पनि अनुभव गर्न पाएनन् । जे जे कुरामा हामीले केपी ओलीको विरोध गरेका थियौं त्यसमा सुधार गर्न सकेनौं । हामीले संविधानलाई जोगाउने मात्र काम गयौं ।
हामीले पाँच वर्ष संसद्लाई टिकायौं, पहिलो पटक संसद्को कार्यकाल पूरा गयो भन्नेबाहेक अन्य नयाँ काम के भयो कांग्रेस नेतृत्वको सरकारमा ?
मैले देखेको त केही भएको छैन । अहिलेको गठबन्धनको काम आम जनतामा आशाको सञ्चार गराउनु हो । हामीले उनीहरूलाई आशा जगाउन सक्यौं । यो सिस्टमप्रति उनीहरूको माया कायम गर्न सक्यौं । हामीले केही नयाँ का दिन सक्यौं । नयाँ सोचले अगाडि बढ्यौं भने यो सिस्टमप्रति पनि मोह हुन्छ । हामीले बनाएको संविधानप्रति पनि मोह हुन्छ । त्यसको अपनत्व जनताले लिन्छन् । र देश अगाडि जान्छ । होइन हिजो पञ्चायतमा जस्तो चलाइएको थियो, बहुदलमा जस्तो चलाइयो । केपी ओलीले जस्तो चलाएको थियो हाम्रो पालामा पनि त्यसरी नै चलाउने हो भने जनतामा निराशा छाउँछ ।
अब जनतामा निराशा नआउनका लागि कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ?
हामी यथास्थितिबाट अगाडि बढ्न सक्छौं जस्तो मलाई लाग्दैन । तपाईंले जस्तो रूपमा व्याख्या गरे पनि भयो । नयाँ सम्भावनाको खोजीमा हामी हुन्छौं । हामी छौं । सुधार गर्ने हाम्रो प्रयास रहन्छ । पहिलाको जस्तो जनतामा निराशा आउन दिँदैनौं ।
अहिलेको संसदमा जुन खालको सिन देखिएको यसले के संकेत गर्छ ?
त्यो चैं हामीहरूप्रतिको निराशा नै हो । हामी जति पनि स्थापित राजनीतिक शक्तिहरू छौं, शान्ति र परिवर्तनको नेतृत्व गन्यौ, संविधान ल्यायौं । राणासँग लड्यौं, पञ्चायतसँग लड्यौ, राजा फ्याल्यौं, गणतन्त्र ल्यायौं, जनयुद्ध गयौं, सबै खालका शक्तिहरू त छौ नि त । मुलुकमा नेपाली कांग्रेस, नेकपा माओवादी, एमालेलगायतका सम्पूर्ण शत्तिहरूप्रतिको घोर वितृष्णा हो । यो सिस्टमप्रति नै उनीहरूमा वितृष्णा पैदा हुनथालेको छ । यदि हामीले राम्रो सुशासन दिन सकेनौं भने । यो वितृष्णाको रिफ्ल्याक्सन हुन्छ ।
त्यसभए अब तपाईंहरु ५०, ५१ सालतिरको संसदमा प्रवेश गर्दै हुनुहुन्छ हो ?
होइन, एकदम होइन । उनीहरूले जुन कुराका लागि यी नयाँ राजनीतिक दलहरू अस्तित्वमा आए उनीहरू केही नयाँ कुराका लागि आए नि उनीहरू पनि अब केही अन्डस्ट्यान्डिङमा आउनुपर्छ । र हामीले पनि आफूलाई संशोधन गर्नुपर्छ । हामी सबै मिलेर गर्ने हो । हामी सबै मिलेर एउटा नयाँ सम्भावनाको खोजी गर्ने हो । र मुलुकलाई अगाडि बढाउने हो । होइन भने उनीहरू पनि यही ढर्रामा गए भने त उनीहरूको पनि भोलिको हालत यस्तै हो । उनीहरू पनि आफ्नो अस्तित्व र भविष्यका लागि सकारात्मक हुनुपर्छ । र हामीले पनि यो अवस्थालाई मनिटर गर्नुपर्छ । र सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।
यो गठबन्धनबाट सरकार बन्दा कांग्रेसकै हो कि माओवादीको हो ?
यो गठबन्धनको स्प्रिडलाई त हामीले ख्याल गर्नुपर्छ । राजनीतिक दलको आन्तरिक जीवनमा यत्रो ठूलो विद्रोहहरू आउँछ, पार्टी फुट्छ, बिग्रन्छ भने पार्टीहरूले बनाएको गठबन्धनले लामो यात्रा तय गरोस् भन्ने चाहना हो । धेरै आरोह अवरोहहरू हुन्छन् । हामीले हाम्रो घर नै सपार्न सकेका छैनौं । मलाई नै हेर्नुस् न रुख चिह्नबाट चुनाव लडिरहेको थिए तर कांग्रेससँगै प्रतिस्पर्धा गर्नुपर्यो । यस्तो छ पार्टीभित्रको हालत । यो परिवेशमा गठबन्धनले त्यति निरन्तरता पाउँछ भन्ने कुरामा त म त्यति विश्वस्त छैन । तर के भने हामी जसले गठबन्धनबाट चुनाव लड्यौं, त्यो गठबन्धनको स्प्रिड र भावनालाई चैं बुझ्नुपर्छ । मतलाई कदर गर्न सक्नुपर्छ । मेरो क्षेत्रमा मैले जित्दै गर्दा समाजवादीका साथीहरूको प्रचुर सहयोग मिल्यो मैले त्यसलाई म्यानेज गर्न पनि सकें ।
तर बर्दियामा कांग्रेसका उम्मेदवारले जित्दा माओवादीले किन हार्ने भन्ने प्रश्न उठेको छ नि ?
त्यो त राजनीतिमा हरेक खालका कुराहरू हुन्छन् । टीकाटिप्पणी हुन्छ । सबैभन्दा ठूलो कुरा भनेको कांग्रेसको संगठनभित्र पनि धेरै ठूलो मतभेदहरू देखियो । हाम्रो पार्टीको नि इम्प्याक्ट देखिएन । माओवादीको संगठनभित्र पनि धेरै ठूलो मतभेद देखियो । काठमाडौंमा बस्ने नेताहरूलाई के लाग्यो भने मैले बोलेपछि सबै कुरा हुन्छ जस्तो लाग्यो तर जिल्लामा टोटल त्यसको प्रतिकूल भयो । अनि हार्ने र जित्ने भन्ने कुरामा म जनतासँग प्रत्यक्ष जोडिएको भएर र अन्तर सम्बन्धका कारणले गर्दा म बाँचे । होइन भने पार्टी संगठनकै भरमा उठेको हुन्थे भने मलाई पनि गाह्रो थियो ।
त्यसो भए अब नेपाली कांग्रेसभित्र सुधार आवश्यक भएको हो ?
यसको करेक्सन गर्ने कुरा चैं संसदीय दलमा गर्छौं सबैभन्दा पहिला । त्यसपछि हामी १५ औं अधिवेशनमा गर्ने हो । हाम्रो कोसिस रहन्छ । हामीले हिजो पनि कोसिस गरेका हौं । तपाईं के बुझ्नुस् भने नेपाली कांग्रेसभित्र पनि एउटा यस्तो एउटा विचार समूह छ जसले अहिलेको यो ट्रेन्डलाई बुझेको छ । र नयाँ सम्भावनाबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने चाहन्छ ।
अहिले यस्तै अवस्था रहिरहने हो भने कांग्रेस पार्टी नै नरहन सक्छ भन्नेहरु पनि छन् नि ?
अहिले त्यो स्थितिमा पुगेको छ भनेर त नभनौं। म एक, डेढ महिनादेखि चुनावमा नै व्यस्त थिएँ। म राष्ट्रिय राजनीतिमा त्यति साहो अपडेट हुन पाएको छैन । त्यसैले बजारमा के भइरहेको छ थाहा पाउन सकेको छैन । तर देशभर कतिपय ठाउँमा रियाक्सनहरू भने आइरहेका छन् । साथीहरू सन्तुष्ट त देखिनुहुन्न । अहिले त्यो ढंगले त हामीले सोचेका छैनौं । आगामी महाधिवेशनबाट पार्टीलाई एकदमै चुस्तदुरुस्त बनाएर अगाडि बढाउँछौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *