‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’

काठमाडौँ । ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।

चन्द्रकोट–४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुग्नुभयो । उहाँलाई दमसम्बन्धी समस्या पहिलेदेखि नै थियो तर, गाउँपालिकाको केन्द्र शान्तिपुरमा विशेषज्ञ डाक्टरसँग जाँच गराएपछि मात्र यसको बढी असर घरकै चुलोबाट भएको थाहा पाउनुभयो । चुलोबाट निस्कने धुवाँका कारण उहाँलाई फोक्सोसम्बन्धी दमले च्याँपेको हो । “घरमा सधैँ चुलोमै खाना पाक्छ, धुवाँ हुन्छ तर यसको असर मलाई थाहा थिएन”, उहाँ भन्नुहुन्छ, “डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो । ”

चन्द्रकोट–३ का शिवलाल न्यौपाने पनि डाक्टर आएको थाहा पाएपछि शान्तिपुरमा पुग्नुभयो । असी वर्षका उहाँलाई दम भएको थाहा भए पनि कारण जानकारी थिएन । डाक्टरसँगको जाँचपछि घरकै चुलोबाट निस्कने धुवाँ र धूमपानका कारण दम बढेको थाहा पाउनुभयो । “धुलो र धुवाँमा त अनगिन्ती समयसङ्गत गरियो”, उहाँ भन्नुहुन्छ, “यसको असरबारे मलाई अहिलेसम्म जानकारी थिएन । ”

सोही ठाउँकी ७८ वर्षीया पार्वती सुवेदी पनि दमलगायतका रोगबाट पीडित हुनुहुन्छ । उहाँको अधिकांश समय चुलोको धुवाँसँगै बितेका कारण दमले च्याँप्दै गएको डाक्टरको जाँचपछि पत्तो पाउनुभयो । ८६ वर्षीया पूर्णकला थापाको पनि समस्या उहीँ हो । उहाँहरु मात्र होइन, चन्द्रकोटको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी अधिकांश बिरामी दमका हुनुहुन्थ्यो । शुक्रबार, शनिबार र आइतबार सञ्चालन भएको शिविरमा सेवा लिएका एक हजार छ सय २३ जनामध्ये अधिकांश दमका बिरामी सहभागी हुनुभएको हो । योसँगै मिर्गौला, मुटु, स्त्री, जनरल फिजिसियन र आँखाका बिरामीले पनि सेवा लिनुभएको छ । उहाँले निःशुल्क जाँचसँगै औषधि पनि पाउनुभएको छ ।

गाउँघरमा दैनिक चाहिने ऊर्जाका निम्ति कोइला, दाउरा तथा गुइँठा आगोको कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । खाना बनाउनका लागि प्रयोग हुने गरेका यी वस्तु र चिसो मौसममा आगो तापेर चुलो छेउमा बस्दा पनि धुवाँले असर गरिरहेकै कारण अधिकांशमा दमको समस्या देखिएको हो ।

चन्द्रकोट गाउँपालिकाको स्वास्थ्य शिविरमा उपस्थित अधिकांशमा आफूले जाँच गर्दा दमसम्बन्धी समस्या देखिएको जनरल फिजिसियन डा नन्दु पाठकले जानकारी दिनुभयो । चुलोबाट निस्कने धुवाँ र धूमपान बढी प्रयोगका कारण दमको समस्या देखिएको उहाँले बताउनुभयो । “दमबाट बँच्न धूमपान चटक्कै छाड्ने र विद्युतीय चुलो प्रयोग गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । ग्रामीण भेगमा अझै पनि सुधारिएको चुलोको प्रयोगमा समेत कमी छ ।

परम्परागत चुलोलाई विस्थापित गरेर विद्युतीय चुलोको प्रयोग गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घसँग सहाकार्य गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो । “आधुनिक चुलोको प्रयोग बढाउन विद्युतीय चुलो बजार प्रवद्र्धन कार्यक्रम लागू गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “परम्परागत चुलोले स्वास्थ्यमा असर गरेकाले धुवाँरहित चुलो प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । सामुदायिक विद्युत् उपाभोक्ता सङ्घको दुई हजार र गाउँपालिकाको पाँच सय अनुदानसहित उपभोक्ताको रु एक हजार तीन सयमा विद्युतीय चुलो वितरण भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *