सुरु भएको एक वर्षमै रेलेखोलाको पचास प्रतिशत निर्माण सकियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण सुरु भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशत निर्माण सकिएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको आयोजना आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्र बनाइएको छ । सिभिल तर्फ बाँध, पाइपलाइन र विद्युत्गृह, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रशारण लाइन निर्माण सँगसँगै अघि बढाइएको आयोजनाका इञ्जिनीयर आयुश भट्टराईले जानकारी दिनुभयो ।

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँधको आधा काम सकेको छ । बाँध नजिकै ५०/५० मिटर लामा दुई पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माणको काम अन्तिम चरणमा छ । बाँधदेखि विद्युत्गृहसम्म तीन हजार छ सय मिटर दूरीको पाइपलाइन जडानको काम सुरु भएको छ ।

बाँधमा पुग्ने पहँुचमार्गको कुनातर्फ पाइपलाइन राख्ने ठाउँ बनाइएको छ । रेलेखर्कमा जग्गा व्यवस्थापनको काम सकेर विद्युत्गृहको संरचना निर्माण थालिएको छ । विद्युत्गृहदेखि दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रशारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका आवासीय इञ्जिनीयर लोकबहादुर नायकले बताउनुभयो ।

डोजर, ब्याकुहोलोडरलगायत उपकरणका अतिरिक्त दैनिक एक सय ३० मजदूर र ४० भन्दा बढी प्राविधिक तथा कर्मचारी आयोजना निर्माणमा परिचालन भएका छन् । सुरुङ र नहरको विकल्पमा पाइपलाइबाट पानी ल्याएर पाँच सय पाँच मिटर माथिबाट विद्युत्गृहमा खसालिने भएको छ ।

आयोजनाले तीन वर्ष लगाएर नारच्याङको बँेसी गाउँदेखि लेकगाउँ हँुदै बाँध र रेलेखर्कस्थित विद्युत्गृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण गरेको थियो । छहरा, हकनी र गाँैडाका पहाड फुटाएर करिब एक किलोमिटर दूरीमा ११ वटा घुम्तीको सडक बनाइएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताउनुभयो ।

रेलेखोलाले पहुँचमार्ग बनाएपछि एक सय ५० घरधुरीको बसोबास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालमा जोडिएको छ । यसअघि स्थानीय, तत्कालीन जिविस र गाउँपालिकाले रु एक करोडभन्दा बढी खर्च गरे पनि बेँशीदेखि लेकगाउँ जोड्ने सडकको बिचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।

वडा सदस्य श्याम पुर्जाले बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकामा अहिले २० मिनेटमै पुग्न सकिने बताउनुभयो । प्रतिमेगावाट रु २० करोड लागत अनुमान गरिएको रेलेखोलामा कूल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय बाणिज्य बैंकले लगानी गरेको छ ।

नारच्याङमा हाल दुई मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । एक सय १० मेगावाट क्षमताको निलगिरि पहिलो र निलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन् ।

नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ । हाइड्रो सपोर्ट प्रालि प्रर्वद्धक रहेको ५३ दशमलव ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *