कम्बोडियाको क्यासिनोमा आगो लागेपछि परिवारलाई भिडियो सन्देश पठाए, १२ तलाबाट हामफाले


काठमाडौं । कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो ।
पाण्डेका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको बताए । ‘त्यहाँ एकजना नेपाली साथी पनि हुनुहुन्थ्यो, उहाँले स्थानीय प्रहरीमा गएर शव सनाखत गर्नुभएको छ, सिलवालले भने, ‘थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल भइरहेको छ ।उनले नेपाली कन्सुलेट जनरलबाट पत्र लिएर शव ल्याउने प्रक्रिया थालिने बताए ।
सिलवालका अनुसार व्यवसायको सिलसिलामा सिलवाल एक महिना अघि भिजिट भिसामा कम्बोडिया गएका थिए । उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा उनी बसेका थिए ।स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको बीबीसीले जनाएको छ । आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । ‘राति आगो लागेको थाहा पाएपछि उहाँ निस्किन खोज्नुभएछ, साथीहरुले पनि करिडोरबाट माथि जान भनेका रहेछन् ‘तर उहाँको करिडोरसम्म आगो लागिसकेको रहेछ । बाहिर निस्किन सक्ने सम्भवना नरहेपछि सिलवालले घरमा फोन गरेर परिवार र आफन्तसँग कुरा गरेका थिए । ‘मलाई पनि भिडियो म्यासेज र सन्देशहरु पठाउनु भएको रहेछ, ‘म चाहिँ सुतिसकेकाले उठाउन पाइनँ । बाहिर सार्वजनिक भएको एक भिडियो सन्देशमा पाण्डेले दिनेशलाई आफ्नो परिवारको ख्याल राखिदिन भनेका छन् । उनले अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन भनेका छन् । निराकरका बुबा विर्तामोड १ का वडाध्यक्ष छन् । उनका सहपाठी वडा नं.३ का वडाध्यक्ष मदन बुढाथोकी भन्छन्, ‘मैले पनि भिडियोहरु हेरेँ, एकदमै विक्षिप्त भएँ । उनले परिवारका सदस्यहरु भिडियो हेरेर विक्षिप्त भएको बताए । एक भिडियोमा उनले छोरालाई धेरै माया गर्ने बताउँदै भनेका छन्, ‘राम्रो मान्छे बन्नु है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *