रोनाल्डो साउदी क्लबसँग अनुबन्ध


काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिकमा साउदी अरबको क्लब अल नासरमा अनुबन्ध भएका छन् । एक विवादास्पद अन्तर्वार्तापछि म्यानचेस्टर युनाइटेडबाट निकालिएका रोनाल्डोले अल नासरसँग २०२५ सम्मका लागि सम्झौता गरेका हुन् । रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक प्रतिवर्ष १७ करोड ७० लाख पाउन्ड भन्दा बढी रहेको बीबीसीले जनाएको छ ।  तथापि, पाँच पटकको बालोन डी‘अर विजेता ३७ वर्षे रोनाल्डोको पारिश्रमिकबारे साउदी क्लबले केही खुलाएको छैन । ‘‘म भाग्यशाली छु कि मैले युरोपेली फुटबलमा जित्नका लागि गरेको सबै कुरा जितेको छु । र, अहिले एसियामा आफ्नो अनुभव बाँड्ने यो उपयुक्त समय हो भन्ने महसुस गरेको छु, रोनाल्डोले विज्ञप्तिमा भनेका छन्, म मेरो नयाँ टोलीका साथीहरूसँग सामेल हुन उत्सुक छु । उनीहरूसँग मिलेर क्लबलाई सफलता हासिल गर्न मद्दत गर्दछु । अल नासर साउदी प्रो लिगमा नौ पटकको च्याम्पियन क्लब हो । क्लबले रोनाल्डोसँगको सम्झौतालाई ‘ऐतिहासिक’ भएको जनाएको छ । क्लबले भनेको छ, यसले हाम्रो लिग, राष्ट्र र भावी पुस्ताका केटाकेटीहरूलाई आफैंलाई परिस्कृत हुन प्रेरित गर्नेछ ।नोभेम्बरको सुरुमा रोनाल्डोले टकटिभीका लागि पियर्स मोर्गनसँगको एक अन्तर्वार्तामा युनाइटेडमा आफूलाई ‘धोका’ भएको महसुस गरेको साथै प्रशिक्षक इरिक टेन ह्यागलाई अपमानित गरेपछि इङ्लिस क्लबले सम्झौता तोडेको थियो ।
युनाइटेडका लागि ३४६ खेलमा १४५ गोल गरेका रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिड गएको ११ वर्षपछि पुनः ओल्ड ट्राफोर्ड फर्किएका थिए । युनाइटेड आउनुअघि रोनाल्डोले इटालियन क्लब युभेन्टसबाट पनि तीन वर्ष खेले ।  रियाल मड्रिडबाट रोनाल्डोले दुई ला लिगा, दुई स्पेनिस कप, चार च्याम्पियन्स लिग र तीन क्लब वल्र्डकपको उपाधि जितेका थिए । युभेन्टसमा रोनाल्डोले दुई इटालियन सिरी ‘ए’ र एक कोपा इटालियाको उपाधि जितेका थिए । युनाइटेडबाट रोनाल्डोले तीन प्रिमियर लिग, एफए कप, दुई लिग कप, एक च्याम्पियन्स लिग र एक क्लब वल्र्डकपको उपाधि जितेका थिए । 
रोनाल्डोले कतारमा सम्पन्न २०२२ को विश्वकपमा पोर्चुगलबाट घानाविरुद्ध गोल गर्दै पाँच फरक संस्करणमा गोल गर्ने पहिलो व्यक्ति बनेका थिए ।
 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *