नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने


काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण–२०२३ जुन २२ देखि २५ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । 
वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरीबाट आवेदन खुला गरिएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र चलचित्रहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । वासिङ्टन डीसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरु प्रदर्शन हुनेछन् । स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिबल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हँुदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ । महोत्सवका निर्देशक युवाकर राजकर्णिकारका अनुसार अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछन् । चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *