गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते


काठमाडौं । ट्र्याक एण्ड फिल्डका २७ इभेन्ट समावेश गरी गोल्डेन एथलेटिक्स मिट माघ तेस्रो साता काठमाडौंमा आयोजना हुने भएको छ । निजी क्षेत्रबाट आयोजना भएको सबैभन्दा ठूलो एथलेटिक्स प्रतियोगिता एथलेटिक्स परिवार नेपालले आयोजना गरेको हो । प्रतियोगिता दशरथ रंगशालामा माघ २० र २१ गते आयोजना हुनेछ । प्रतियोगितामा ट्र्याकतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५ हजार मिटर, १० हजार मिटर, ४ गुणा १०० मिटर दौडमा महिला र पुरुष दुवैको प्रतिस्पर्धा हुनेछ । नेपालमै पहिलोपल्ट ४ गुणा ४ सय मिटर मिक्स्ड रिले स्पर्धा पनि समावेश गरिएको आयोजकले जनाएको छ
त्यस्तै फिल्डतर्फ लङजम्प, ट्रिपलजम्प, हाइजम्प, सटपुट र ज्याभलिन थ्रोमा पनि महिला र पुरुष दुवैको प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा देशभरबाट खेलाडी सहभागी हुने अपेक्षा रहेको आयोजक एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए । ‘हामीले सातै प्रदेशमा प्रदेश खेलकुद परिषदमार्फत निमन्त्रणा गरेका छौं । १६ लाख अनुमानित खर्च रहने प्रतियोगितामा स्वर्ण जित्नेलाई ६ हजार रजतलाई ४ हजार र कांस्य जित्ने खेलाडीलाई २ हजार रुपैयाँ पुरस्कारको पनि व्यवस्था छ । त्यस्तै रिले दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमसः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाउँछन् । नेपाल एथलेटिक्स संघसँगको सहकार्यमा हुने प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई प्रोत्साहनस्वरुप ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा खेल्न चाहने खेलाडीले माघ १८ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *