५० हजार वर्षपछि दुर्लभ हरियो पुच्छ्रेतारा पृथ्वीबाट हेर्न सकिने

काठमाडौं । दुर्लभ हरियो पुच्छ्रेतारा हिजो (शुक्रबार) देखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले जनाएका छन् ।

हिजोदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारा नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवम् खगोलविद् डा. सनतकुमार शर्माले जानकारी दिए । यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ ।

मुस्लो हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो( का अध्यक्ष सुरेश भट्टराईका अनुसार अमेरिकाको पालोमार वेधशालामा रहेको ज्विकी ट्रान्सिएन्ट फेसिलिटी (जेटीएफ) बाट पहिलो पटक सन् २०२२ मार्च २ मा निश्चित गरिएको यो धुमकेतु वा पुच्छ्रेतारा सन् २०२१ जुलाई १० देखि सन् २०२३ जनवरी ६ सम्म चार हजार ९६२ पटक अवलोकन गरिएको छ । यसले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा सूर्यको सबैभन्दा नजिक पुग्ने हुँदा यसको अवलोकन गर्न सकिन्छ ।

नेपालबाट यो दुर्लभ पुच्छ्रेतारालाई ध्रुवताराको नजिकै एउटा टाउको र दुईवटा लामा र छोटा गरी तीनवटा पुच्छरका रूपमा देखिनेछ । यो पुच्छ्रेताराको अवलोकन नाङ्गो आँखाका साथै वाइनाकुलर तथा टेलिस्कोपबाट समेत गर्न सकिने अध्यक्ष भट्टरार्ईले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *