सुस्मिताको हत्यामा संलग्नलाई चार जनालाई जन्मकैद, सासुलाई १० वर्ष


काठमाण्डौं । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ की सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै परिवारका चार सदस्यलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा कार्की, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई दोषी ठहर गर्दै जनही २५ वर्षको कैद हुने फैसला गरेको हो । सासु तुलसा कुमारी थापालाई भने हत्याको मतियार ठहर गरि १० वर्षको जेल सजाय तोकेको छ । कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको १ असार २०७७ मा हेटौंडा उपमहानगरपालिका ४ कर्रास्थित घरमा उनका परिवारका सदस्यहरु मिलेर विभत्स ढंगले हत्या गरेका थिए । सुस्मिताका श्रीमानको रुपेन्द्रको २३ असोज २०७६ मा दाउन्नेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । रुपेन्द्रको दुर्घटना बीमाबापत आउने रकमका लागि परिवारका सदस्यहरुले मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । मृतक सुस्मिताको बुवा कृष्णबहादुर क्षेत्रीले २०७७ असार २९ गते पाँचै जना विरुद्ध जाहेरी दर्ता गराएका थिए । जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल लगायत वकिलहरुले बहस गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *