पार्टी एकताका लागि प्रचण्ड र उपेन्द्रको तानातानमा माधव नेपाल

काठमाडौं । पाँचदलीय कांग्रेसको गठबन्धन टुटेर नयाँ गठबन्धन बनेसँगै अहिले विभिन्न दल एकता र सहकार्यका लागि जुटेका छन् । मंसिर ४ गतेको निर्वाचनबाट प्राप्त नतिजा सन्तोषजनक नआएपछि अहिले माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीबीच एकता र सहकार्यका लागि छलफल तीव्र ढंगले अघि बढेको छ ।

यसअघि नै सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि १२ बुँदे सहमति भइसकेको छ । हुन त माओवादी र एमालेबीच पनि पार्टी एकता वा वाम एकताका लागि छलफल सुरु नभएको होइन । तर एमाले अध्यक्ष केपी ओलीले सबै कम्युनिस्ट पार्टी एमालेमा विलय हुनुपर्ने सर्त राखेकाले अहिले साना दल आपसमा मर्जर हुने प्रक्रियामा लागेका छन् ।

माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता अन्तिम चरणमा पुगेको छ । फागुन तेस्रो साता हुने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनअघि नै माओवादी र नेसपाबीच पार्टी एकता हुने तय भएको छ ।

चुनावलगत्तै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच कार्यगत एकता हुँदै पार्टी नै एकीकरण गर्ने सहमति भएको थियो । दुई तीन चरणमा छलफल पनि भएको थियो । तर बीचमै रोकिएको थियो । अहिले फेरि एकताका लागि छलफल सुरु भएको छ ।


एकीकृत समाजवादी र जसपाबीच एकता हुन लागेको खबर पाएसँगै माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसँग छलफल सुरु गरेको छ । आइतबार माओवादी र एकीकृत समाजवादीका नेताहरुबीच पार्टी एकताका विषयमा छलफल भएको थियो । माओवादी अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि हालतमा माधव नेपाललाई सँगै लिएर हिँड्ने मनस्थितिमा छन् । बरु उनी एमाले अध्यक्ष केपी ओलीसँग सम्बन्ध बिगार्न सक्छन्, माधव नेपाललाई छाड्न चाहँदैनन् । सोही कारण उनले एकीकृत समाजवादीसँग पार्टी एकता गर्न लागेको नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड जसपा, एकीकृत समाजवादी र नेसपालाई मिलाएर बलियो पार्टी बनाउन चाहन्छन् । हाल संसदमा आफ्नो पार्टीको ३२ सिट मात्रै रहेको र यी तीन पार्टीका साथै अन्य पार्टीसमेतलाई मिलाउन सकेमा शक्तिशाली बन्न सकिने प्रचण्डको बुझाई छ । सोही रणनीतिअनुसार प्रचण्डले प्रभु साह नेतृत्वको पार्टीलाई समेत एकता प्रक्रियामा ल्याउन चाहेको बताइन्छ । माओवादी ३२, जसपा १२, एकीकृत समाजवादी १०, नेसपा एक र प्रभु साह एक गर्दा ५६ सांसद पुग्ने र बलियो शक्ति बन्ने प्रचण्डको बुझाई छ । सोही कारण अहिले माधव नेपाल प्रचण्ड र उपेन्द्रको निसानामा परेका छन् ।

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरु उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको वार्ता समिति गठन गरेको छ । जसपाले विभिन्न राजनीतिक दल तथा संगठनहरुसँग एकता वा सहकार्य गर्नका लागि वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको छ ।

एकीकृत समाजवादीले महासचिव डा।बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर र डा। विजय पौडेल रहेको वार्ता समिति गठन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *