बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ


काठमाडौँ । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए । यस्ता घटना बढिरहेका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको हो । आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ । ‘सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने समेत सम्पूर्णमा जानकारी सूचनामा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *