केपी ओलीबाट सहमति पालना भएन ,अहिले नै कांग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन ःप्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए ।
संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ, दाहालको भनाई उद्धृत गर्दै ती पदाधिकारीले भने, विगतका कुरा सार्वजनिकरुपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन । हामीले त्यो विषय नबोल्ने भनेका थियौँ । संसद् विघटनको विषयमा त्यत्रो आन्दोलन ग¥यौँ, अहिले त्यही ठिक थियो भन्न सकिँदैन । उनले एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चारजना पठाएको भन्दै अर्को असन्तुष्टि जनाएका थिए ।

पहिलो दिनमा नै दुईवटै पार्टीबाट एक एक जना पठाउने कुरा भएको थियो तर एमालेले चारजना पठायो, प्रचण्डको भनाई थियो, मन्त्रीको पोर्टफोलियो पनि जसरी हुनुपर्ने हो त्यो भएन । सहमति र विश्वासको कुरा हुन सकेको छैन । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सभामुख र राष्ट्रपति अहिले एउटै पार्टीको बनाउने र भोलि प्रधानमन्त्री हुँदाको अवस्था अहिले नै मूल्यांकन गर्नुपर्ने बताएका थिए । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने उनको भनाई थियो । सभामुख र राष्ट्रपति अनि भोलि प्रधानमन्त्री पनि एउटै पार्टीको हुने अवस्थामा गम्भीरताका साथ अहिले नै सोच्न जरुरी छ, दाहालको भनाई थियो, कांग्रेससहितले विश्वासको मत दिएका छन् । हामीले राष्ट्रिय सहमति जुटाउनुपर्ने अवस्था आउन सक्छ तर अहिले नै कांग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन ।एमाले अध्यक्ष ओलीको कारण शंकाको वातावरण निर्माण भएको उनको टिप्पणी थियो । संसद् विघटनको विषय निर्वाचित प्रधानमन्त्रीको अगाडि सहज विषय नभएको पटक पटक दाहालले टिप्पणी गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *