धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन

काठमाडौँ । लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ ।

ओमसतिया गाउँपालिका(४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहनशरण देवाचार्यले चौँथो शक्तिपिठका रुपमा स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको महायज्ञमूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताए ।

सुनसरीको चतराधाममा वि.सं २०५९ मा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, सांस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले यहाँ जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको उनको भनाइ छ ।

पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदापीठ महाकाली, तेस्रो निलाद्रीपीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौँथो भैरहवापीठ स्थापना हुनेछ । यो पीठ जगदगुरुको अन्तिम पीठ हुने रायमाझीले बताए ।

महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्वान आचार्य पुुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादवशरण गड्तौलाका मुखारविन्दबाट पाठ(पारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, लुम्बिनीलगायत नेपालका धार्मिकस्थल दर्शन गर्न आउने भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुविधासहित भैरहवापीठ सञ्चालनको लक्ष्य राखिएको छ ।

चार पीठको स्थापनासँगै जगद्गुरुका विभिन्न स्थान, चतराधाम, जगद्गुरु आश्रम शङ्खमूल र शारदापीठमा जगद्गुरुकुलम् सञ्चालनमा छन् । जहाँ नेपाली धर्म, संस्कृति र परम्पराको ज्ञान दिनुका साथै नेपाली मन मस्तिष्कमा धार्मिक भावना, सांस्कृतिक चेतना, कर्तव्यबोध, नैतिकता, सौन्दर्यबोध, शीलस्वभाव र सदाचारको शिक्षा ज्ञान जगदगुरुकुलमा प्रदान गरिने गरेको छ ।

महायज्ञको पूर्ण आहूति कार्यक्रममा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले धार्मिक कार्यक्रमले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

“नेपालको ऐतिहासिक र एक मात्र जगदगुरुको पीठ निर्माण हुनुले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण योगदान पु¥याउने छ ।” उहाँले यसले धर्म, संस्कृति र पराम्पराको रक्षा गर्ने काम सँगसँगै यहाँको पर्यटनमा पनि सहयोग पु¥याउने हुनाले मैले व्यक्तिगत तरिका र सरकारको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

उप–प्रधानमन्त्री लिङ्देनले नेपालमा गुरु पण्डित पनि हिन्दु धर्मको पक्षमा खुलेर बोल्ने डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दूधर्मको पक्षमा लागेको बताउनुभयो । उहाँले यस्ता हिन्दूत्वसम्बन्धी कार्यक्रम तथा धार्मिक कार्यक्रमले आफूलाई आनन्द दिने गरेको बताउनुभयो । सत्सङ्गमा सहभागी हुन पाउँदा अन्यको तुलनामा आफूलाई बढी आनन्द हुने गरेको उहाँको भनाइ छ । कार्यक्रमका मुख्यवाचक बालसन्त मोहनशरण देवाचार्य महाराजले संसद्बाट नै हिन्दूधर्मको पक्षमा बोल्न आग्रह गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *