राप्रपाका नेताहरू प्रचण्डमाथि र एमालेका नेताहरू रवि लामिछानेमाथि खनिए

काठमाडौं । स्वार्थै स्वार्थमा बनेको सातदलीय गठबन्धनका दलहरूले एकअर्कामाथि आरोप प्रत्यारोप लगाउन थालेका छन् । उनीहरूबीच आपसी सदभावसमेत देखिन छाडेको छ । एमाले अध्यक्ष केपी ओलीको लहडमा बनेको यो सरकार यस्तै असन्तुष्टि र विवादले लामो समय नटिक्ने संकेत देखिन थालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएदेखि राप्रपाका नेता र मन्त्री आक्रोशित हुँदै आएका छन् । कानुनमन्त्री ध्रुवबहादर प्रधानले आफ्नो पार्टीले संघीयता खारेज गर्ने र राजतन्त्र स्थापना गर्ने भनी प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । सोही अन्तर्वार्तालाई लक्षित गर्दै प्रचण्डले संघीयताविरोधी मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएका थिए । तर प्रधानमन्त्रीको सो चेतावनीपछि राप्रपाका नेताहरू नै उनीमाथि जाइलागेका छन् ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले त प्रचण्डलाई धम्की दिँदै समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । उनले प्रचण्डलाई आफ्नो पार्टीले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए राप्रपाले समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
राप्रपाका नेता शरदराज पाठक पनि प्रधानमन्त्री प्रचण्डमाथि खनिएका छन् । उनले प्रधानमन्त्रीलाई नै आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिँदै राप्रपा पार्टी लाइनबाट यताउता नहुने स्पष्ट पारेका छन् ।

सहरी विकासमन्त्री एवं राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले त आफ्नो पार्टीले संघीयता स्वीकार नगरेको दाबी गरेका छन् । उनले संघीयता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिने कानुनमन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्री प्रचण्डले चेतावनी दिए पनि राप्रपाले त्यसलाई नमान्ने चेतावनी दिएका छन् । बुधबार चितवन पुगेका पाण्डेले पार्टीको सिद्धान्तअनुसार नै मन्त्री र नेताहरूले आ–आफ्ना धारणा राख्ने बताए । ‘हाम्रो पार्टीको अडान छ, हामीले संघीयता स्वीकार गरेको छैनौँ । राजतन्त्रबारे हामीले कुराकानी गरेका छौँ, धर्मनिरपेक्षतालाई विरोध गरेका छौँ । हाम्रो अडान यथावत् छ । जुन किसिमले हामीले सोचेका छौँ, त्यसैअनुसार अघि बढ्ने लक्ष्य छ,’ उनले भनेका छन् ।

यता, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देनको चर्चा परिचर्चाप्रति एमाले नेताहरूलाई फिटिक्कै खुसी छैनन् भन्ने कुरा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुष्टि गरेका छन् । एमालेका उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय पुराना नेता र सरकारको आलोचना गरेर उदाएको बताएका छन् ।

एमाले स्कुल विभागले बुधबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले दुई खालका पार्टीहरू सतहमा देखिए । एउटा पपुलिष्टहरू उनीहरूको खास आइडोलोजी देखिँदैन । तर, हिजोको सत्ता, सरकार, पार्टी र नेताहरूलाई आलोचना गरेर आएका छन् ।’
रास्वपा सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै उनले आलोचना र असन्तुष्टिको जगमा खडा भएका पपुलिजम, लोकप्रियतावादी शक्ति भएको उनको टिप्पणी थियो ।

‘पछिल्लो समय उदाएकाहरू भोलि कुन ढंगले अगाडि बढ्छन् । हामीले केही समय पर्खिनुपर्नेछ । यहाँ मात्रै नभएर अन्य देशमा पनि यस्ता शक्ति उदाएर पछि ठूलो समस्या निम्त्याएका छन् । त्यसको पछिल्लो उदाहरण युक्रेन हो । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की एउटा टिभी शोका कमेडियन थिए । तर, अहिले उनी राष्ट्रपति भएपछिको नीतिहरूले युक्रेनलाई कहाँ पुर्‍याएको छ,’ ज्ञवालीले भनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *