ए शहीद !

(१) “जति पनि लेखिएको छ त्यसमध्ये मलाई त्यही मन पर्छ–प्यारो लाग्छ जुन तपाईको रगतबाट लेखिएको छ ।” – फ्रेडरिक नित्शे ।
शहीद , ए शहीद !
जसको लागि
तिमिले ढुङ्गा हान्यौ
पुलिस लखट्यौ,
पुलिसको लाठी पनि खायौं
फुटेको टाउकोबाट चुहेको रगत नथामिएपछि
मरेँ मरेँ साथी हो भन्दै उनीहरुकै काखमा लुपुक्क पनि त भयौ
साँच्ची तिमी त जेल पनि पर्यौ नी हगी !
जसको लागि
अझ अघि बढदै , पढाई छोड्दै देश जोड्दै
बम बन्दुक खुर्पा खुकुरी बोकेर हान भन्दै
आदेशका पूर्वाग्रहले औल्याइँएका
सूचिबद्ध बर्गशत्रु सफाया पनि त गर्न भ्यायौ हैन त ?
ए शहीद !
के के गरेनौ ?
महिना भर जागीर नै माया मारेर टायर बाल्यौ, मुठ्ठी उचाल्यौ
कठै !
जसको लागि–त्यसको लागि–उसको लागि–यसको लागि ‘जनताको लागि’
भन्न त जस,त्यस,उस,यसले जनताको लागि नै भने होलान
पक्कै देश कै लागि पनि भने होलान
तर अहिलेको नेपाल भन्ने देशको लागि हैन पक्कै हैन
अलग देश
जातियताको पहिचानको संक्षेपमा सार्वभौमताको विखण्डनको
अस्तित्वको विघटनको
उन्मुक्ति पनि भने होलान अकाश मै उड्ने गरी
र शहीद तिमी साँच्चै उडेउ, आकाश भन्दा अझ माथी स्वर्ग मै
र जस,त्यस,उस,यस अहिले विभिन्न शव्दमा रुपान्तरण भएका छन्
उनीहरु कोही खप्र वा केपी,पुष्प वा प्रचण्ड,महन्थ शेवा,उद्धव माधव
राजेन्द्र उपेन्द्र, नेत्र चित्र,प्रकाश रवी चन्द्रकान्त यस्तै यस्तै
चलखेल , लम्पसार ,दलाली ,समृद्धि ,डोजर , भ्यू पार्क
डाँडाँ काडाँ कौडीमा खरिद र बाटो घाटो के के नीतिगत सेटिङ्ग
बैक सहकारी मिल्दै रिसोर्ट,राइडिङ्ग गर्दै महङ्गोमा त्यही डाँडाकाडाँ बेच्दै
जनताले सेवा नपाएपनि सरुवाको सूचि बनाउँदै–त्यसैमा रमाउँदै
र, अरु पनि…..,भोका नाङ्गाको घाउ त उकुज पल्टेको छ
सत्ताको आयातित त्यो पनि नक्कली मल्हमले निको हुँदैन !
स्वर्गमा साँच्ची कस्तो धन्दा चल्छ ? की चल्दैन शहीद ?
त्यता पनि रुपान्तरण रे ! ?
ठीक छ बग्ने कलकल–पानी जस्तै बग्नु लेउ लाग्दैन
तर चरित्र,नैतिकता,सदाचार,विचार,सिद्धान्त,मूल्य मान्यता न बगाउनु…

(२) एक पूरै जाति नामर्द हुने जोखिम उठाउनु भन्दा बरु म एक हजार पटक हिँशाको जोखिम उठाऊँछु । जहासम्म मेरो बिस्वाश छ यदि डरपोक र हिँशाको बीचमा जहाँ कुनै एक मात्र बिकल्प हुन्छ त्यसबेला म हिँशाको सल्लाह दिन्छु….। डरपोक हुनु भन्दा बरु लड़दै लड़दै मर्नु धेरै राम्रो हो । (भावार्थ– हिँशा र डरपोंकमध्ये यदी मलाई कुनै एउटा रोज्नु परेमा म हिँशालाई नै रोज्दछु) । –महात्मा गाँधी
ए शहीद नढाटी भन्छु ,
सुनिदिनुस है : बुझ्नु भो !
मलाई त अचेल जस,यस,शेवा,पुष्प,वा अरु जुनशुकै शब्दहरु नै हुन निरर्थक लाग्छ
मेरो लागि तीनवटा शव्दमात्र सार्थक छन् सम्झन्छु सधैं नेपाल,नेपाली र शहीद ।
अरुलाई साशन सत्तामा आशन गराउनको लागि भएका शहीदरुलाई
मात्र हैन,साहित्यिक संस्कृतिक शहीदलाई मात्र पनि हैन
मेची–महाकाली–अरुण,कर्णाली,कोशी गण्डकी,पच्छिम सेती,सुस्ता,
पशुपति नगर,महेशपुर लगायतका थुप्रै प्रकृतिक र सीमाना शहीदहरुलाई पनि
प्राकृतिक श्रोतको दोहनको विरोधमा भएका पर्यावरण शहीद,
विष्णु पादुकाबाट बद्रीनाथ र काली गण्डकीबाट अयोध्या पुर्याईएका
देवशीला शहीदलाई पनि जोड्दै ए शहीद ! तिमी सँगसँगै सम्झने गर्दछु ।
ए वीरेन्द्र शहीद, ए गणेशमान शहीद,ए मनमोहन शहीद,ए काजीभिम शहीद
ए प्रेमसिंह र प्रेम आचार्य शहीद,ए मदन आश्रीत शहीद,ए मरिचमान शहीद,
ए मीत्रमणी आचार्य शहीद,ए पोष्ट बहादुर शहीद,ए पशुपति चौलागाँई शहीद,
ए नारायण कोइराला शहीद, शैलजा शहीद,ए रामवृक्ष शहीद ए बाबुराम बराल शहीद..
ए ……! ए ……..! उफ !
जो राजनीति भन्दा माथी उठेर
देशको निम्ति समेत पद सत त्याग गरेका र अरुहरु पनि छन् त्यागीहरु
देशको लागि हो सबै त्यागीलाई सम्झेको छु । श्रद्धापूर्ण भावाञ्जली !
शहीद हुन जुन रुपका भएपनि शहीद नै भनेर !
र अव शहीदहुँदा गाडी क्रशर राज्यधन लुट अकूतको लागि
क्रान्तिगर्दै जीऊँदै मर्नु पर्छ ।
( लेखक नेपाल सरकारका पूर्व प्रमुख जिल्ला अधिकारी हुन् )

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *