राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले बुधबार निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको रास्वपा खारेज गर्न माग गर्दै निवेदन दिएका हुन् ।

उनले उजुरीमा सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षर समेत अवैधानिक भएको दावी गरेका छन् ।

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेको तर संविधानअनुसार यो पद नागरिक भइसकेपछि मात्रै प्राप्त हुने भएकाले त्यसअघि नै अनागरिक रहेको अवस्था रविले राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको समेत उनले उल्लेख गरेका छन् । राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी खारेज हुनुपर्ने उनको जिकिर छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम सम्बन्धी उल्लेख छ। जसमा राष्ट्रविरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने सम्बन्धी व्यवस्था छ । यो पार्टी निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *