दैनिक बालुवाटार धाउँछन् ओली, परिणाम हात लाग्यो शून्य

काठमाडौं । केही दिनयता एमाले अध्यक्ष केपी ओलीको दैनिकी बालुवाटार धाउने बनेको छ । दुई वर्षअघि नेकपाकालीन सरकारका पालामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दैनिकी प्रधानमन्त्री निवास बालुवाटार धाउने थियो । अहिले त्यही नियति ओलीमा सरेको छ । त्यसबेला प्रचण्ड दैनिक बालुवाटार धाउने मात्र होइन, एकैदिन साँझ र बिहान पुग्थे । तर ओलीले अनेक कुरा गरेर भुल्याएर राख्थे । ठोस कुरा गर्दैनथे । आफू शक्तिशाली प्रधानमन्त्री बनेको भान ओलीलाई थियो । त्यही भएर प्रचण्डलाई कुनै अधिकार नदिई संयुक्त सरकार चलाउँथे । बरु प्रचण्ड निकट नेताहरुलाई आफूतिर तानेर ओली शक्तिशाली बने ।

अहिले नियतिले प्रचण्ड संयुक्त सरकारको नेतृत्वमा छन् । ओली उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक छन् । तर संयन्त्रको मिटिङ नबसेको महिनौं भइसक्यो । प्रधानमन्त्री बनेपछि प्रचण्ड दुईपटक ओली निवास बालकोट पुगे । तर अहिले उनी बालकोट जानै छाडेका छन् । बरु दिन बिराएर ओली बालुवाटार जान्छन् । प्रचण्डसँग राजनीतिक कुराकानी गर्छन् । फर्कन्छन् । दुईबीच कुराकानी के भयो भन्ने बाहिर सार्वजनिकसमेत हुँदैन । किनभने दुवै सत्तारुढ दलका नेता हुन् ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच मंगलबार पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको बुझिएको छ । तर, यथार्थ कुरा बाहिर आएको छैन ।

ओली मन नलागी नलागी बालुवाटार जानुमा राष्ट्रपतिको निर्वाचन पनि एउटा कारण हो । प्रचण्ड प्रधानमन्त्री बन्ने बेला ओलीले राष्ट्रपति एमालेले लिने सहमति भएको बताउँदै आएका छन् । तर प्रचण्डले त्यसलाई नकारिसकेका छन् । त्यही भएर फागुनको पहिलो सातासम्म हात लाग्यो शून्य भए पनि ओलीको बालुवाटार आउजाउ चलिरहने माओवादीका एक नेताले बताए ।

फागुनको पहिलो साता माओवादीले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने औपचारिक निर्णय गर्ने भएकाले त्यसबेलासम्म ओली बालुवाटर गइरहन्छन् । त्यसपछि भने भन्ने सकिन्न । यदि माओवादीले कांग्रेसलाई समर्थन गरेमा ओलीको बालुवाटार आउजाउ ठप्प हुनेछ,’ माओवादीका एक नेताले भने ।

सोमबार पनि ओली र प्रचण्डबीच कुराकानी भएको थियो । सिंहदरबारमा आयोजित भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए । उनीहरूबीच सीमा क्षेत्रमा देखिएको समस्याबारे छलफल भएको थियो । तर, बाहिर राष्ट्रिय सहमतिको सरकारबारे छलफल भएको भनेर प्रचारसमेत गरियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *