कांग्रेस सरकारमा जाने टुंगो छैन, तर मन्त्री बन्ने सूची भइसक्यो लामो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदैछन् । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका कारण लागू आचारसंहिताका कारण मन्त्रिपरिषद्समेत विस्तार हुने सकेको छैन । प्रधानमन्त्री प्रचण्डले औपचारिक रूपमै उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताइसकेका छन् । तर अहिलेसम्म गठबन्धनमा यस विषयमा छलफलसमेत नचलेको नेताहरु बताउँछन् ।

आठदलीय गठबन्धनको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । उपराष्ट्रपतिको उम्मेदवारमा साझा मत तयार गर्न बैठक बस्न लागेको हो । बुधबार साँझ पनि गठबन्धनको बैठक बसेको थियो । तर, बैठक उपराष्ट्रपतिको उम्मेदवारको विषयमा साझा धारणा बनाउन असफल बनेको थियो । त्यसैले आज बैठक बसेको हो । भोलि (शुक्रबार) उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसैले आजै गठबन्धनको आधिकारिक उपराष्ट्रपतिको उम्मेदवार तय गरिसक्नुपर्ने बाध्यता छ ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई सघाउने निर्णय गरिसकेको छ । तर, सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले अहिलेसम्म निर्णय गरेको छैन । माओवादी उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने अडानमा छ । यदि उपराष्ट्रपतिमा माओवादीले महिला हुनुपर्ने अडान राखिरहेमा कांग्रेसलाई नैतिक संकट उत्पन्न हुने निश्चित छ । पार्टीले औपचारिक निर्णय नै गरिसकेको, त्यसैलाई लिएर निर्वाचन आयोगले समेत कांग्रेसलाई स्पष्टीकरण सोधिसकेको छ । त्यसैले आजको बैठकमा कांग्रेस र माओवादीमध्ये एक पछाडि हट्नुपर्ने अवस्था छ ।

यदि माओवादी आफ्नो अडानमा कायमै रहे नेपाली कांग्रेसले पूर्ववत् निर्णय सच्याउनुपर्ने हुन्छ । जबकि कांग्रेसले अहिलेसम्म आफूले गरेको निर्णय फिर्ता लिएको नजिर छैन । उपराष्ट्रपतिमा कुरा नमिलेकै कारण पनि नयाँ समीकरण दह्रो बन्न सकेको छैन । यदि नयाँ समीकरण नबनेमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन पनि सकस पर्ने अवस्था छ । अहिलेसम्म कांग्रेसले सरकारमा जाने औपचारिक निर्णय गरेको छैन । कांग्रेस अहिले पनि प्रतिपक्षी दल नै हो । एमालेले आफूलाई प्रमुख प्रतिपक्षी दलको हैसियत दिलाउन संघीय संसद् सचिवालयमा पत्र पठाइसकेको छ । यदि कांग्रेस सरकारमा नगएमा ठूलो दलको हैसियतले कांग्रेस नै प्रतिपक्ष हुने छ ।

कांग्रेस सरकारमा जाने निश्चित नभए पनि प्रभावशाली नेताहरूले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएलगत्तै सरकार जाने बताइरहेका छन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विमलेन्द्र निधि, मोहनबहादुर बस्नेतलगायतले पार्टी सरकारमा जाने बताइरहेका छन् । राष्ट्रपति आफूले लिइसकेपछि कांग्रेसलाई सरकारमा जान कुनै आपत्ति छैन । तर, पनि पार्टीले औपचारिक निर्णय गर्नुपर्ने हुन्छ । तर अहिले नै कांग्रेसबाट मन्त्री बन्नेहरूको सूची लामो बनिसकेको छ ।

उपसभापति खड्का, महामन्त्री थापा, डा.शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, मोहनबहादुर बस्नेत, उदयशमशेर राणा, सीता गुरुङलगायतको नाम मन्त्री बन्ने सूचीमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *