बैंकका कर्मचारीमाथि आक्रमण, दुर्गा प्रसाईंलाई कारवाही गर्न बैंकर्सको माग


काठमाडौं । एनआईसी एसिया बैंकको म्याग्दी जिल्लास्थित शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने, कर्मचारीमाथि आक्रमण गर्ने जस्ता जस्ता अराजक गतिविधि मौलाउँदै गएको बेलामा यस्तो आक्रमण भएको हो । जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखलाले बैंकिङ क्षेत्र असुरक्षित बनाएको छ । उल्लेखित घटनाप्रति बैंक तथा वित्तीय सस्था परिसंघ सिबिफिनले घोर भत्र्सना गरेको छ । निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्र माथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत सिबिफिनले सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकाय समक्ष जोडदार माग गरेको छ । वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्था माथि नै प्रहार भएको अनुभूत भएको सिबिफिनका सचिव कुश प्रसाद मल्लीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा सिबिफिनले अपिल गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत ५० हजार भन्दा बढी कर्मचारी असुरक्षित भएको नेपाल बैंकसं संघको अध्यक्ष सुनिल केसीले बताए । बैंकका कर्मचारीसँगै बैंक तथा वित्तीय क्षेत्रमा रहेको सर्वसाधारणको ५४ खर्ब रुपैयाँ निक्षेपको सुरक्षाबारे पनि चिन्ता थपिएको उनले बताए । समग्र वित्तीय क्षेत्रको सुरक्षा र यस क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षाको लागि सरकारले तत्काल ठोस कदम चाल्नु पर्ने उनले बताए । एक जना विवादस्पद व्यवसायी दुर्गा प्रसाईंले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको घोषण गर्दै कर्जा असुलीको लागि काम गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गर्ने घोषणा गरेका थिए । उनले बैंक तथा वित्तीय संस्थाविरुद्ध देशभर आन्दोलनको कार्यक्रम चलाईरहेका छन् । बैंकर्सहरुले दुर्गा प्रसाईंलाई तत्काल कानुनी कारवाही गर्न माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *