विद्यार्थी नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताए ।

उन्साठ्ठीऔँ विद्यार्थी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले चरम व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्दै विद्यार्थीहरू अगाडि बढ्नुपर्ने बताए । “अहिले व्यक्तिवाद चरमरूपमा विकास भएको पाइन्छ । आफूले खोजेको र चाहेका पद नपाए सङ्गठनलाई तोडिदिने, देश र जनताप्रति घात गर्ने प्रवृत्ति व्याप्त छ । अखिलका योद्धाहरूले नयाँ संस्कार र संकृतिको अगुवा भएर अगाडि बढ्नुपर्छ”, उनको भनाइ छ ।

जनताको विश्वास जितेर काम गर्नुपर्नेमा जोड दिँदै उनले जनतामा नयाँ विश्वास सिर्जना गर्न सक्नुपर्ने बताए । “जनताबाहेक राजनीतिको कुनै अर्थ छैन, कम्युनिष्ट पार्टी स्थापना गर्नुको मुख्य उद्देश्य राष्ट्रियताको रक्षा, देशभक्तिको भावनाको विकास र जनताको अधिकार स्थापित गर्नु थियो”, उनले भने ।

वामपन्थी शक्तिले मात्र जनताको आशा अपेक्षा पूरा गर्न सक्ने दाबी गर्दै उनले देशभक्तिको झण्डा फहराउने, लोकतन्त्रका लागि जीवन अर्पित गर्ने नै कम्युनिष्ट हुन् भन्ने स्थापित भएको बताए । “अहिले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र संविधान सङ्कटमा पर्ने अवस्था देखिएको छ, यस्तो बेला कम्युनिष्टले आफूलाई जिम्मेवार बनाउनुपर्ने बेला आएको छ”, पूर्वप्रधानमन्त्री नेपालले भने ।

युवा विद्यार्थी बिहानीको उज्यालो घाम भएको जनाउँदै उनले सिङ्गो विश्व र नेपालको भविष्य विद्यार्थीको हातमा केन्द्रित रहेको बताए । “तपाईंहरू सही बाटोमा अगाडि बढ्नुभयो भने देशले राम्रो बाटो पाउनेछ । राम्रो विचार र नेता पाउनेछ । तपाईंले बाटो बिरायो भने हामी सबैको भविष्य अँध्यारो हुनेछ”, उनले भने । युवा, प्रौढ र ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई एक ठाउँमा मिलाएर अगाडि बढे जुनसुकै चुनौतीको सामना गर्न सकिने उनको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकाटाले आधारभूत आवश्यकता पूरा गर्ने, गरिबी हटाउने, जनताको जीवनस्तर उकास्ने, साझा प्रगति प्राप्त गर्ने विषय समाजवादको मूलभूत विषय भएको बताए । उनले विचार र दृष्टिकोणको विकास गर्नका लागि विद्यार्थी अगाडि बढ्नुपर्ने बताए । पूर्वसभामुख सापकोटाले रानजीतिक परिवर्तनमा जनताले ठूलो त्याग तपस्या र बलिदान गरेका भए पनि जनताको जीवनस्तर उठाउन राजनीतिक दलबाट कमजोरी भएको स्वीकार गरे ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अप्ठ्यारो परेको मुलुकलाई सहज मार्गमा ल्याउन विद्यार्थी सङ्घसङ्गठन एकजुट हुनुपर्ने बताए । “देशलाई बर्बादीमा जान दिन हुँदैन, यहीँ भविष्य देखाउन सक्नुपर्छ, त्यसका लागि विद्यार्थी एक हुनुपर्छ”, उनले भने ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राष्ट्रियता, सार्वभौमिकताको रक्षा, शिक्षा, स्वास्थ्य, रोजगारीलागायत अधिकार प्राप्त गर्न युवाको सक्रियता आवश्यक रहेको बताए । नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले मुलुकको बेथितिका विरुद्ध सम्पूर्ण विद्यार्थी एक हुनुपर्ने बताए । अखिल छैठौँका अध्यक्ष देवेन्द्र कुँवरले समाजवादी शिक्षा प्रणाली प्राप्त नभएसम्म विद्यार्थी एकता आवश्यक रहेको बताए ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीले व्यवस्था बदल्न विद्यार्थी सङ्गठनको ठूलो भूमिका रहे पनि राजनीतिक नेतृत्वले युवालाई स्थान नदिँदा विद्यार्थी वर्गमा निराशा पैदा गरेको बताए । उनले युवा प्रतिभा पलायन, विश्वविद्यालयको बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्ध सम्पूर्ण युवा विद्यार्थी एक हुनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *