सातदोबाटोको उपाधि होडमा धक्का , पुलिस आठौँ स्थानमा


काठमाडौं । नेपाल पुलिस क्लबले मंगलबार शहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारलाई १–० ले पराजित गरेको छ । आजै सम्पन्न अर्को खेलमा पुछारमा रहेको खुमलटार एफसीसँग १–० ले पराजित भएपछि सातदोबाटो युथ क्लबको उपाधि होड पनि कमजोर बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मेसुके ओलोमउले ३७औँ मिनेटमा गरेको गोल खुमलटारको जितमा निर्णायक बन्यो । मेसुकेले राजिव लोप्चनको क्रसलाई पोष्टको दिशा दिएका थिए । मेसुकेको त्यही गोल खुमलटारको जितमा निर्णायक बन्यो । पहिलो खेलमा सातदोबाटोले खुमलटारलाई २–१ ले हराएको थियो । जितसँगै खुमलटारले २० खेलबाट २१ अंक जोडेको छ । पुछारमा रहेको खुमलटार र १३औँ स्थानमा रहेको फ्रेण्ड्स क्लबको समान २१ अंक छ । त्यस्तै दशदेखि १२औँ स्थानसम्म रहेको क्रमशः सशस्त्र प्रहरी बल एपीएफ, न्युरोड टिम एनआरटी र संकटाको समान २३ अंक छ । पराजित सातदोबाटोले २० खेलबाट २९ अंक जोडेको छ । जुन शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडभन्दा आठ अंकले पछाडि हो । लिगमा अब ६ खेलमात्र बाँकी छ ।

त्यस्तै सातदोबाटो दोस्रो स्थानको मछिन्द्र भन्दा पाँच र तेस्रो स्थानको जावलाखेल युथ क्लबभन्दा चार अंकले पछाडि छ । खुमलटारले चार खेलपछि पहिलो जित निकालेको हो । पछिल्लोपटक १५औँ चरणमा जावलाखेललाई ४–२ हराएपछि खुमलटारको यो पहिलो जित हो । यस बीचमा खुमलटारले एक खेल बराबरी खेलेको थियो भने बाँकी तीन खेल हारेको थियो । आजै सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न अर्को खेलमा बिभागीय क्लब नेपाल पुलिसले थ्री स्टारलाई १–० ले हरायो । यससँगै पुलिसले यसअघि थ्री स्टारसँग हारेको बदला लिन सफल भएको छ । त्यतिबेला पुलिस थ्री स्टारसँग १–० ले पराजित भएको थियो । नेपाल पुलिसको जितमा एहेमद हिजाजीले २८औँ मिनेटमा गरेको निर्णायक बन्यो । हिजाजीले जो एइडोको पासमा गोल गरेका थिए । जितसँगै पुलिसले २० खेलबाट २५ अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेल हारेको थ्री स्टार भने २६ अंक जोड्दै छैटौं स्थानमा यथावत छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *