अब न्यायाधीशको हातमा शरणार्थी ठगीकाण्डको मुद्दा, ‘हाई प्रोफाइल’ नेता एक सातासम्म हिरासतमै

काठमाडौं । नक्कली शरणार्थी मुद्दा अब अदालतमा पुगेको छ । बिहीबार सार्वजनिक बिदा परेसँगै शुक्रबारदेखि जिल्ला अदालतमा थुनछेकको प्रक्रिया सुरु हुनेछ ।

सुरुमा अदालतमा पक्राउ परेका सबै अभियुक्तको बयान हुनेछ । त्यसपछि बल्ल थुनछेक बहस सुरु हुनेछ । सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्न पाउनेछन् । पक्राउ प्रतिवादी १६ जना भएकाले बयान र बहसका लागि कम्तीमा एक साता लामो समय लाग्ने अदालतका कर्मचारीहरू बताउँछन् ।

बहस सकिएपछि अदालतले प्रतिवादीहरूलाई थुनामा राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने आदेश दिनेछन् । जिल्ला अदालतमा अत्यधिक मुद्दा भएकाले फैसला आउन निकै समय लाग्ने अनुमान गरिएको छ ।

पक्राउ परेका ‘हाई प्रोफाइल’ हरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत अझै कम्तीमा एक साता प्रहरी हिरासतमा रहने देखिएको छ । यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरैजना कानुन व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ ।

बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै ११५ जना पीडितले उजुरी दिएका थिए । अझै सयौँ पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पूरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

हिजोसम्म प्रहरीको हातमा रहेको मुद्दा अब अदालतमा परेसँगै कानुन व्यवसायी र न्यायाधीशको चलखेल धेरै हुने अनुमान गरिएको छ । यदि जनदबाब कम भएमा आरोपीहरू सजिलै धरौटीमा छुट्न सक्नेछन् । विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचारलगायतका धेरै मुद्दामा विशेष अदालतले सामान्य सजाय वा सफाइ दिने गरेको थियो । यसपटक भने राज्यविरुद्धको अपराध र सरकारी कीर्तेसम्बन्धी पनि मुद्दा दर्ता भएकाले अप्ठेरो अवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *