सातदोबाटोविरुद्ध फ्रेन्ड्सको सहज जित, चर्च ब्वाइज युनाइटेडको उपाधि यात्रामा धक्का


काठमाडौं । सातदोबाटो युथ क्लबविरुद्ध ४–० को जित निकाल्दै फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहज जित निकालेको छ । लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत देखिएको फ्रेन्ड्स यो जितसँगै १२औं स्थानमा उक्लिएको छ । २१ खेलबाट २४ अंक जोडेको फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा रहेको संकटा क्लबभन्दा एक अंकले माथि छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा फ्रेन्ड्सलाई जित दिलाउन टोरिक जेब्रिनले दुई गोल गर्दा रफिक एमिनु र प्रकाश बुढाथोकीले समान एक गोल गरे । खेलको पहिलो मिनेटमा नै एमिनुले गरेको गोलबाट फ्रेन्ड्सले अग्रता बनाएको थियो । एमिनुको गोलमा पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रेन्ड्सले दोस्रो हाफमा तीन गोल थप्यो । प्रकाश बुढाथोकीले ५५औँ मिनेटमा गोल गर्दै फ्रेन्ड्सको अग्रतालाई दोब्बर पारेका थिए । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा जेब्रिनले दुई गोल गरेपछि फ्रेन्ड्सले सहज जित निश्चित गर्यो ।

आजै च्यासल रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग गोलरहित बराबरीमा रोकिँदा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको उपाधि यात्रामा धक्का पुगेको छ । यता, लिगमा १०औं बराबरी खेलेको मनाङ भने रेलिगेसन क्षेत्रको जोखिममा परेको छ । बराबरीमा रोकिँदा दुई अंक गुमाएको चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ । जुन दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबभन्दा तीन अंकमात्र माथि हो । लिगमा अब अन्तिम पाँच चरणका खेलहरु मात्र बाँकी छन् । समान खेलबाट २५ अंक जोडेको मनाङ भने तालिकाको ११औँ स्थानमा खस्किएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *