मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध १६ करोडको मुद्दा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेका कारण नेपाल राष्ट्र बैंकसमेत आक्रोशित बनेको छ । उनकै कारण धेरै बैंक तथा वित्तीय संस्थाको आर्थिक कारोबार बिग्रिएपछि राष्ट्र बैंक आक्रोशित भएको हो । प्रसाईले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट साढे पाँच अर्बभन्दा बढी ऋण लिएका छन् । त्यति मात्र होइन, उनले आफ्नो अस्पतालका लागि किनेको मेडिकल सामग्रीको करोडौं रुपैयाँ नतिरेको पाइएको छ ।

मेडिकल माफिया दुर्गा प्रसाईविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उनले बी एन्ड सी मेडिकल कलेजका लागि किनेको मेडिकल सामग्रीको रकम तिर्न आनाकानी गरेपछि आपूर्तिकर्ताले अदालतमा मुद्दा दायर गरेका छन्। प्रसाईंका बी एन्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको उधारो भुक्तानी नभएपछि विवाद अदालत पुगेको हो। १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ सावा र कानुन बमोजिमको ब्याजसमेत माग गरेर सात वटा मुद्दा वैशाख २४ गते झापा जिल्ला अदालतमा दायर भएका छन्।

कम्तीमा तीनदेखि सात वर्षसम्म उधारो रकम नपाएपछि आपूर्तिकर्ताले अदालत गुहारेका हुन् । प्रसाईंसँगै बी एन्ड सीका अन्य सञ्चालक रामबाबु गिरी, इन्दिरा गिरी, डा. रइस पोखरेल र अनुजजं रायमाझीलाई मुद्दामा विपक्षी बनाइएको छ।

स्रोतका अनुसार हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्सलगायतले मुद्दा दायर गरेका छन्। सम्पूर्ण मुद्दा औषधी, मेडिकल सामानहरू, सौन्दर्य प्रवर्धक सामान र सरसफाइका सामानहरूको भुक्तानीसँग सम्बन्धित छन्।

आपूर्तिकर्ताले पाँच प्रतिवादीको सम्पत्ति रोक्काको माग पनि गरेको छ। विभिन्न स्थानमा रहेको अचल सम्पत्ति रोक्का गरिदिन विवरण पनि मुद्दामा उल्लेख गरिएको छ। पाँच प्रतिवादीको तोकिएको जग्गा कारोबार रोक्काको माग पनि मुद्दामा गरिएको छ। स्रोतका अनुसार आफूविरुद्ध मुद्दा दायर हुन सक्ने बुझेपछि प्रसाईले एक महिनाअघि नै आफ्ना नाममा भएका सबै सम्पत्ति र सेयर अरुकै नाममा नामसारी गरिदिएका छन् । त्यसको खुसियालीमा उनले केही समयअघि काठमाडौंमा भव्य पार्टी दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *