मन्त्रीकै कुर्सीमा बसेर जेलमा रहेका श्रीमानलाई छुटाउँदै रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् । उनका श्रीमान् रेशमलाल चौधरी जेलमा छन् । कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भई जेलजीवन बिताइरहेका चौधरीलाई निकाल्नकै लागि रञ्जिता सरकारमा सहभागी भएको पुष्टि भएको छ ।

गत मंसिरमा सम्पन्न आमनिर्वाचनमा नागरिक उन्मुक्तिले चार सांसद जितेको थियो । सोही बलमा नागरिक उन्मुक्ति वर्तमान सत्ता गठबन्धनमा सहभागी भएको थियो । सरकारमै बसेर रञ्जिता हत्या अभियोगमा जेल जीवन बिताइरहेका रेशमलाई निकाल्न सफल हुँदैछिन् । सरकारले गणतन्त्र दिवसको अवसरमा १८ जना ‘राजबन्दी’ सहित चार सयजनालाई आममाफी दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट यो निर्णय गरिएको हो ।

आफ्नो श्रीमानलाई आममाफी दिने मन्त्रिपरिषद् बैठकमा रञ्जिता भने सहभागी थिइनन् । परिवारका सदस्यसमेत बसेर निर्णय गर्न नमिल्ने कानुनी व्यवस्था छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता रेशमकको परिवारकै सदस्य भएकाले मन्त्रिपरिषद् बैठकमा सहभागी नगराइएको बताइन्छ । कानुनी रूपमा स्वार्थ बाझिने व्यक्तिलाई निर्णय प्रक्रियामा समेल गराउन नमिल्ने भएकाले उनलाई बैठकमा नराखिएको बुझिएको छ ।

फौजदारी अभियोगमा जेल जीवन बिताएका रेशमलाई फेरि राजनीतिमा ल्याउनकै लागि प्रधानमन्त्री प्रचण्डले यति ठूलो जोखिम उठाएको देखिएको छ । रेशमसँग प्रचण्डको सम्बन्ध सुदृढ छ । रेशम अहिले नागरिक उन्मुक्ति पार्टीको संरक्षक छन् । सोमबार कारागारबाट निस्किएसँगै उनी पार्टीको अध्यक्ष बनेर पुनः राजनीतिमा फर्किने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *