एमालेमा ७० वर्षे उमेरहद निलम्बनको साइड इफेक्ट : वामदेव फकाउँदै ओली

काठमाडौं । केही समयअघि एमाले अध्यक्ष केपी ओली भैंसेपाटीस्थित वामदेव गौतम निवास पुगेका थिए । कुनै समस्या पर्दा ओली अकस्मात वामेदवलाई भेट्न उनकै निवास जाने गरेका छन् । निवासमै पुगेर ओलीले वामदेवलाई एमालेमै फर्किन आग्रह गरे । २०७८ भदौमा एमालेबाट अलग भएका गौतमले पार्टीमा फर्किन ७० वर्षे उमेरहद हटाउनुपर्ने बताउँदै आएका थिए । त्यसमा ओलीले ग्रिन सिग्नल दिएका थिए ।

एमालेले ७० वर्षे उमेरहद प्रावधान हटाउँदा आफ्नो पार्टी फिर्ती सहज हुने भन्दै वामदेवले कान्तिपुर दैनिकमा लामो आलेख लेखेका थिए । ओली पनि ७० वर्षे उमेरहद हटाउने उपयुक्त अवसरको पर्खाइमा थिए । यही बेला एकीकृत समाजवादीका मुकुन्द न्यौपानेले एमाले प्रवेश गर्ने चाहना राखे । उनको उमेर ७४ वर्ष पुगिसकेको छ ।

न्यौपानेलाई भित्र्याउन पनि ७० वर्षे उमेरहद हटाउनै पर्ने अवस्थामा एमाले थियो । एमालेले उनलाई केन्द्रीय सदस्य मनोनीत गरिसकेको छ । यो प्रावधान हटाएमा मात्रै न्यौपाने केन्द्रीय सदस्य बन्न योग्य ठहरिनेछन् । त्यही भएर जेठ १९ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले ७० वर्षे उमेरहद निलम्बन गरेको छ ।

अब एघारौं महाधिवेशनले त्यसबारे निर्णय गर्नेछ ।न्यौपानेलाई केन्द्रीय सदस्य बनाएपछि वामदेवलाई पनि बाटो खुल्ला भएको छ । केपी ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै भएको बताउन थालेका छन् । ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो । अनि कुरा बाँकी छ केही । थप कुरा,’ ओलीले बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग भने । नेता गौतमले पार्टी खोलेको नभएर एकता अभियान मात्रै चलाएको ओलीले दाबी गरे ।

ओलीको यो भनाइले पनि वामदेव केही दिनभित्रै एमालेमा फर्किंदैछन् भनेर अनुमान लगाउन थालिएको छ । उनले विज्ञप्ति निकालेरै एमाले त्यागेको उल्लेख गरेका थिए । वामदेवले यसबीचमा एकीकृत समाजवादी जाने कोसिस नगरेका होइनन्, तर केही कुरामा माधव नेपालसँग असहमति देखिएपछि उनी अडिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *