लुम्बिनी केवलकारको औपचारिक उद्घाटन भोलि प्रधानमन्त्री प्रचण्डबाट हुने


बुटवल । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि जेठ २५ गते विहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्धारा हुने भएको छ। आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो।लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाशपर्वत, वरपिपल, ढुंगेधारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तब्य बनेको छ। यस अघि यहि जेष्ठ १५गतेका माख्यामन्दिरमा कामाख्यादेवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजा आराधना शुरु गरिएको थियो । सप्ताहव्यापी पुजा आराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिनु भएको थियो।बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ।कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए।
केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ।लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँधार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताउनु भएकोछ ।भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताउनु भयो । केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ।टपस्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टा छुट्टै रेष्टुरेन्ट बनि सकेकाछन् । होटल, बालउद्यान, स्काईवाक, जीपलाइन निर्माणको क्रममा छन्।मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसार पसार गर्न सक्छ । बटम स्टेसन समुद्रीसतहबाट दुई सय ३०मिटर र टपस्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ।टन स्टेशनबाट १० मिनेटको यात्रामै टपस्टेशनमा पुग्न सकिन्छ।खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए। केबलकार सञ्चालनमा आएसँगै टपस्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिनु भयो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *