एमाले संसदीय दलको बैठकमा किन कड्किए ओली ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओली पछिल्लो समय आफ्ना सांसदको भूमिकाप्रति असन्तुष्ट देखिएका छन् । संसदमा सांसदहरूले प्रभावकारी भूमिका खेल्न नसकेको उनको मूल्यांकन छ ।

सरकारको नीति तथा कार्यक्रममाथि होस् वा बजेटमाथिको छलफल होस्, एमालेका कुनै पनि सांसदले प्रभावकारी र तथ्यसहित संसदमा बोल्न सकेका छैनन् । सरकारको आलोचना गर्न र गाली गर्नमा मात्रै एमाले सांसदहरू सीमित भएका छन् । त्यसैले होला अहिले ओली आफ्नै सांसदहरूसँग सन्तुष्ट नभएका ।

प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् । तीमध्ये अलि बोल्ने भनेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश गर्तौला, योगेश भट्टराई र गोकुल बास्कोटा मात्रै हुन् । अन्य सांसदको भूमिका सन्तोषजनक देखिएको छैन । त्यही भएर हालै बसेको संसदीय दलको बैठकमा ओली आफ्ना सांसदहरूको भूमिकाप्रति असन्तुष्ट हुँदै कड्किएका छन् ।

‘राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गरेकै दिन हाम्रा सांसद नून खाएका कुखुराजस्ता भए, सधैं झोक्राएर बस्ने’ भन्दै ओली आक्रोशित भएका थिए । ओली रिसाएको देखेपछि सबै सांसद चुप लागेका थिए । नेताहरुका अनुसार संसदका सम्पूर्ण प्रक्रियालाई अवरुद्ध पार्नुपर्ने र आफ्ना सांसदले अवरोध गरिरहनुपर्ने भन्ने उनको आशय थियो । तर, अहिलेका एमाले सांसदहरू हुबहु त्यसो गर्न तयार छैनन् । त्यसकारण ओली संसदीय दलको बैठकमा त्यसरी तात्तिनुएका हुन् ।

संविधानविपरीत दुई–दुईचोटि संसद विघटन गरेको र अहिले जुनियरहरूलाई प्रमुख सचेतक, सचेतक बनाएकाले पनि अन्य एमाले सांसदले संसदमा प्रभावकारी ढंगले प्रस्तुत नभएको बताइन्छ । नेपाल परिवार दलका अध्यक्षलाई दुई दुईपटक पार्टीबाट सांसद बनाएकाले धेरै एमाले नेता सन्तुष्ट छैनन् ।

ढकाल वर्षमा एक दुई महिना मात्रै नेपाल हुन्छन् । उनी धेरै समय विदेशतिरै डुलिरहन्छन् । आफ्ना सांसदहरूले संसदमा बोल्न छाडेपछि अहिले ओली आफैं दुई घन्टासम्म बोल्न थालेका छन् । सोमबार ओलीले संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै बोलिरहँदा एमालेका अधिकांश सांसद घर हिँडिसकेका थिए । कुर्सी खाली थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *