चीनले सार्वजनिक गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्छौं : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने बताएकी छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताएकी हुन् । ‘यसमा कूटनीतिक ढंगले नै कुराकानी र पहलकदमी गर्नु पर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो नक्सामा देशकै सर्वसम्मत छ,’ उनले भनिन्, ‘चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी गर्यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ ।’
एक अर्को प्रसंगमा मन्त्री शर्माले विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसदबाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको विषय स्मरण गराइन् ।