पञ्चाङ्ग समिति – भोलि रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट पारेको छ । समितिले विज्ञप्ति जारी गर्दै यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन परेको जनाएको छ ।
बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो ।धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ। बुधबार ११ः२८ घडी अर्थात् १०ः१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ।
बिहीबार ५ः१८ घडी मात्रै पूर्णिमा रहेको बताइएको छ । यसैकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन् । उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ ।