सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरुले दागबत्ती दिए लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएर सलामी अर्पण गरेका थिए। नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका छन् ।
नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा पशुपतिको बागमती किनार क्षेत्रमा ठूलो भिड लागेको । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत निकै गाह्रो परेको छ ।
गत मंगलबार नेम्वाङको हृदयघातका कारण निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
एक दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र अर्को एक दिन बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि बिहीबार नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको थियो । बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । नेम्वाङको पार्थिव शरीरलाई आर्यघाट पुर्याएर फूलले सजाइएको चितामा राखिएको थियो । चितामा नेम्वाङको पार्थिव शरीर राखेपछि सुरुमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । देशको एक असल नेता गुमाउँदा देश नै रोएको छ । अहिले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्ञली दिन पुगेका सबैका आँखा रसाएका छन् ।