प्रधानमन्त्री प्रचण्डको भ्रमणअघि मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जानुअघि बैठक बस्न लागेको हो । बैठकमा महासभासहित चीन भ्रमणका एजेन्डालगायत विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार (भोलि) अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै छन् । उनले आउँदो असोज ४ गते (२१ सेप्टेम्बर) महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड महासभाको उद्घाटनसत्रमा सहभागी हुनेछन् । असोज ३ (१९ सेप्टेम्बर) गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनले भाग लिनेछन् । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र जलवायु महत्त्वाकांक्षालगायत शिखर सम्मेलनमा पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यहाँ उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाटका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् । चीन भ्रमण असोज ५ गतेदेखि सुरु हुने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने
भ्रमणमा प्रधानमन्त्रीका साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, र परराष्ट्र मन्त्रालयका अरू वरिष्ठ अधिकारी रहने मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *