नाडा अटो शोमा उत्साहजनक सहभागिता, एकै दिन १६ हजार जनाले अवलोकन


काठमाडौं। भृकृटीमण्डपमा भइरहेको सवारी साधनको कुम्भ मेला नाडा अटो शोमा शनिबार एकै दिन १६ हजारले अवलोकन गरेका छन्। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अटो शो संयोजक अनुपकुमार बरालका अनुसार शनिबार मात्र १६ हजार भन्दा धेरै मानिसहरुले स्टलहरु अवलोकन गरेका छन्। ‘हामीले संकलन गरेको तथ्यांक अनुसार १६ हजार भन्दा धेरैले अटो शो भिजिट गरेका छन्। आज विदाको दिन भएकाले धेरै फूटफल भयो । बरालका अनुसार पहिलो दिन साढे ८ हजार जनाले स्टल भिजिट गरेका थिए।

बुधबार ११ हजार ७००, बिहीबार लगभग साढे १४ हजार र शुक्रबार करिब १४ हजारले शो भिजिट गरेका छन्। मेलामा हट केक टाटा टियागो, बीवाइडीको डल्फिन, सेरेस, एमजीको कोमेटमा धेरै भीड देखिन्थ्यो। अरु स्टलमा पनि भीड बाक्लै थियो। हुन्डाई, महिन्द्रा र सुजुकीमा पनि उत्साहजनक उपस्थिति देखिन्थ्यो। दुई पाङ्ग्रेमा रोयल इनफिल्डको स्टलमा धेरै संख्यामा मानिसहरुको भीड थियो। अर्को अप्रिलिया र भेस्पामा पनि मानिसहरुको रुची देखिएको छ। यस्तै टीभीएस, जावा, बजाज, केटीएम लगायतका अन्य ब्रान्डमा पनि उपस्थिति राम्रो थियो। यस्तै नेटा भी र ग्रेटवाल मोटर्सको ओरा जेरो ३ मा पनि मानिसहरुले चासो देखाएका छन्। तर अटो शोमा एउटै छाना मुनी धेरै ब्रान्ड मोडल र विकल्प भएकाले मानिसहरुको चासो सबैतिर नै छ।

आइतबार सकिने मेलामा ७०० देखि ८०० युनिटसम्म गाडीहरु बुकिङ भएको आयोजकले जनाएको छ। त्यसमा पनि ७० देखि ८० प्रतिशत सबै इभी छन्। इन्धन सवारीको हकमा भने २० प्रतिशतसम्म मात्र बुकिङ भएका छन्। बुकिङ र भीडले अर्थतन्त्रलाई पनि चलायमान बनाउने विश्वास गरिएको छ। गाडीको बुकिङसँगै अरु क्षेत्रलाई पनि चलायमान बनाउने व्यवसायीहरु बताउँछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *