राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत पाइनेछ । यही असोज ५ गते मध्याह्न साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज ७ गते निष्काशन हुनेछ । पाँच वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी २०८५ असोज ७ गते हुनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । घटीमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ र एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत मात्र हुने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *